सिलगढी (निसं) : सिलगढीको डांगापुरस्थित ब्लू माउन्टेन होटल एण्ड रिसर्ट देह व्यवसाय काण्डको जाँचमा जुटेको पुलिसले अझ एकजना आरोपीलाई पक्राउ गरेको छ। उक्त पक्रा पर्ने छैटौ आरोपी निमा लामा हुन् भने तिनले सिलगढी शहरमा देह व्यवसायको लागि युवती उपलब्ध गराउने गरेको आरोप रहेको छ। गत राति एसओजी-को टीमले गोप्य सूचना पाएर देह व्यवसाय काण्डमा सामेल छैटौ आरोपी निमा लामालाई सिलगढीको वेगा सर्कल शपिङ मल नजिकबाट पक्राउ गरेको बताइएको छ। सिलगढी प्रधान नगर थाना पुलिसले देह व्यवसाय चलाएको आरोपमा इनमोरल ट्राफिकिंग अन्तर्गत मामिला दर्ता गरेर आज निमा लामालाई सिलगढी अदालतमा पेश गऱ्यो।
स्मरण रहोस, गत 24 मईको राति सिलगढी मेट्रोपलिटनको एसओजी अनि प्रधान नगर थाना पुलिसले संयुक्त रूपमा डांगापुरस्थित ब्लू माउन्टेन होटल एण्ड रिसार्टमा ‘ड्रिग्स पार्टी’को नाममा चलिरहेको देह व्यवसायको खुलासा गर्दै बिहारबाट आएका तीनजना ग्राहक क्रमैले भिनित गौतम, अभिषेक गौतम र इकबाल अहमद हासमी सहित चौथो सिलगढीको सप्लायर राजु सरकारलाई पक्राउ गर्नको साथै एकजना युवतीलाई घटनास्थलबाट उद्धार गरेको थियो। यसपछि पुलिसले पक्रा पर्नेहरूलाई सोधखोज गरेपछि गत 15 जूनको दिन पाँचौ आरोपी सन्दीप कुण्डई उर्फ सैन्डीलाई पक्राउ गरेको थियो। गत राति फेरि उक्त काण्डका अर्को आरोपी निमा लामालाई पनि पक्राउ गरेको छ। पर्दा पछाडी बसेर देह व्यवसायको लागि युवतीहरू पठाउने गरेको साथै मसाज पार्लरको आड़मा देह व्यवसाय गर्ने गरेको निमा लामाविरूद्ध आरोप रहेको छ। तथापि, पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।
