सिलगढी, 10 अप्रेल (निसं): सिलगढी भक्तिनगर थाना पुलिसको सहयोगमा असमको बङ्गाईगाँव पुलिसले एकजना हत्या काण्डको सफल समाधान गरेको छ। घटना भएको लगभग 10 दिनपछि भागेका आरोपीलाई भक्तिनगर थाना पुलिसले पक्राउ गरेर बङ्गाईगाँव पुलिसको हातमा जिम्मा लगाएको छ।
पक्रा परेका आरोपी थेनरूप लेप्चा भोटाङका वासिन्दा हुन् र उनलाई सिलगढीको भूपेन्द्रनगर क्षेत्रबाट पक्राउ गरिएको हो। प्राप्त जानकारी अनुसार लगभग 10 दिनअघि असमको बङ्गाईगाँव थाना क्षेत्रबाट एकजना वाहन चालकको शव फेला परेको थियो। जाँच शुरु गरेपछि असम पुलिसले चालकको हत्या गरेर उनको वाहन चोरी गरेर बेचिएको पत्तो लगायो।
आरोपी भोटाङबाट असम चालकलाई पछ्याउँदै आएका थिए भन्ने खुलासा भयो। त्यसपछि पुलिसले आरोपीको खोजी शुरु गर्योा। आरोपीको मोबाइल टावर लोकेशनको आधारमा उनी सिलगढीमा लुकेको थाहा पायो। त्यसपछि बङ्गाईगाँव पुलिस सिलगढी आएर भक्तिनगर थानाको सहयोगमा भूपेन्द्रनगर क्षेत्रमा लुकेका आरोपीलाई नियन्त्रणमा लिएको हो। आज पक्रा परेका आरोपीलाई बङ्गाईगाँव पुलिसले साथमा लिएर गएको छ।