चितुवाको आक्रमणमा सिप्टीगढ़ी चिया कमानमा श्रमिकको मृत्यु, कमानवासीहरू आतङ्कित

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तराईको गाड़ीधुरा नजिक सिप्टीगढ़ीमा एकजना चिया श्रमिकको कमानमा काम गरिरहेकै समय चितुवाले आक्रमण गर्दा तिनको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय सिप्टीगढ़ी निवासी 43 वर्षीय मनोज माझी आफ्नो कमानको काममा गएका थिए। त्यहाँ तिनलाई चितुवाले आक्रमण गरेपछि गम्भीर रूपमा घाइते भए। यसपछि जसोतसो अन्य श्रमिकहरूले चितुवालाई घटनास्थलबाट खेदे। त्यसपछि गम्भीर घाइते अवस्थामा तिनलाई सर्वप्रथम सुकुना अस्पतालमा लगेपछि त्यहाँबाट फेरि नर्थ बंगाल मेडिकल कलेज अनि अस्पतालमा पुऱ्याएर त्यहाँ साधरण उपचार गरेपछि माझीलाई तिनको घर ल्याइयो। तर अचानक गत राति तिनको निधन भएको बताइएको छ। आज चिया श्रमिकहरूले जंगली जानवरबाट आफुहरूको पनि ज्यानको खतरा भएको तथा यस विषयमा चिया बगान अनि वन विभाग दुवैले ध्यान नदिएको तथा मृतक मनोज माझीको परिवारले सरकारी सवै सुविधा पाउनुपर्छ भन्ने मागमा काम रोको अन्दोलन गरे भने आज तिनीहरू आफ्ना काममा गएनन्। मनोज माझीको चितुवाको हमलाको कारण निधन भएको खबर पाएपछि आज तिनको घरमा वन विभाग, बाहुनी पोखरी रेञ्जबाट वन अधिकारीहरू, गाड़ीधुरा थानाबाट पुलिस अधिकारीहरू अनि स्थानीय सिप्टीगढ़ी चिया बगानका प्रबन्धक अनि अन्य स्टाफहरू आएर घटना अनि स्थितिको जानकारी लिए। घटनाबारे जानकारी गराउँदै बाहुनी पोखरी रेञ्जका रेञ्जर मनोज कान्ती घोषले गत 24 फरवरी आफ्नो काममा गएको समय मनोज माझीलाई चितुवाले आक्रमण गरेपछि उपचारको निम्ति सुकना अनि त्यसपछि नर्थ बंगाल मेडिकल कालेज अनि अस्पताल लगेर पछि त्यहाँबाट साधरण उपचार गरेपछि घर ल्याएको तर अचानक गत राति उनको निधन भएको बताए। घोषले स्थानीय मानिसहरूलाई सुरक्षा प्रदान गर्न अनि चितुवालाई पक्राउ गर्न आज विभागको एक टोली यहाँ स्कड गर्न आउने बताए। स्थानीय मानिसहरूले यहाँ चितुवाको धेरै आतंक रहेको जनाउँदै श्रमिकहरू अनि स्थानीय ग्रामवासी धेरै चिन्तित बनेको बताए। घटनाबारे सम्बन्धित विभाग अनि पुलिस प्रशासनलाई जानकारी गराएपछि आज तिनीहरू मृतकको घरमा आएर छानबीन गरी मनोज माझीको शवलाई पोस्टमार्टमको निम्ति नर्थ बंगाल मेडिकल कालेज अनि अस्पताल लगियो। यता परिवारको पक्षबाट मृतक मनोज माझीकी छोरी देविका माझीले तिनीहरू परिवारमा तीन छोरी, एकजना छोरा अनि आमा रहेको तथा तिनका पिता कमानमा स्थायी श्रमिक रहेको औ आमा अस्थायी श्रमिक रहेको बताउँदै पिताको निधनपछि अब तिनीहरूको पारिवारिक आर्थिक अवस्था कमजोर हुने बताउँदै सरकारी पक्षबाट उचित साहुलियत दिनुपर्ने माग गरिन्। यता, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सुकुना पानीघट्टा समष्टि सचिव बिक्रम दर्जीले घटनाको खबर पाउने बित्तिकै आफु त्यहाँ पुगेर स्थितिको जानकारी लिएको बताउँदै मृतक मनोज माझीको पारिवारिक अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *