सिलगढी : गत 15 जुनमा नामाङ्कन पत्र बुझाउन जाँदा वाम र कङ्ग्रेसको रैलीमा गोली चलाउँदा घाइते भएका सीपीएम कार्यकर्ता मनसुर आलमको आज उपचाराधीन अवस्थामा सिलगढीको एउटा गैर सरकारी अस्पतालमा मृत्यु भएको छ। घटनाक्रमअनुसार गत 15 जुनमा नामाङ्कन पत्र बुझाउन जाँदा वाम र कङ्ग्रेसको रैलीमा गोली चलाएको घटनालाई केन्द्र गरेर उतप्तको माहौल सृष्टि भएको थियो। उक्त घटनामा घाइते भएका सीपीएम कार्यकर्ता मनसुर आलम र तिनका काका नैमुल हकलाई सिलगढीमा ल्याएपछि मनसुरलाई पहिला शक्तिगढको एउट नर्सिङ होममा भर्ना गरेपछि त्यहाँबाट फेरि खालपाडाको एउटा नर्सिङहोममा भर्ना गरिएको थियो। त्यहीँ उपाचाराधीन अवस्थामा आज बिहान 6 दिनपछि तिनको मृत्यु भएको छ। तिनको काका नैमुल हक हाल उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छन्। मनसुर आलमको मृत्युको खबर सुनेर सीपीएम दार्जिलिङ जिल्ला सचिव समन पाठक, अशोक भट्टाचार्य लगायत अन्य वाम कार्यकर्ता तथा समर्थकहरू आज नर्सिङहोममा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गरे। आज साँझ पोस्टमार्टमपछि शव परिवारका सदस्यहरूलाई सुम्पिनेछ। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार चोपडा घटनामा पक्राउ परेकाहरू मुख्य आरोपी होइनन्। त्यहाँका दुई तृणमूल नेता मोहम्मद हामिदुल रहमान र जियारूल रहमानको नेतृत्वमा चोपडामा उतप्तको माहौल सृष्टि भएको थियो। उक्त घटनापछि पनि तिनीहरू निर्धक्क घुमिरहेका छन्। यस विषयमा वाम नेत अशोक भट्टाचार्यले भने, पञ्चायत अधिकारको लागि पश्चिम बङ्गालमा लडाइँ भइरहेको छ। हाम्रा मन्सुर आलम तृणमूल काङ्ग्रेसका गुण्डाहरूको हातबाट शहीद भएका छन्। यसको लागि तृणमूल कङ्ग्रेसका नेताहरू जिम्मेवार छन्।