खरसाङ : खरसाङको तीनधारे सिविटार चियाबारीको तितिरी खेल मैदानमा भएको नगदराशि फुटबल टुर्नामेन्टमा महानदी एफसी च्याम्पियन बन्यो। फाइनल खेलमा महानदी एफसीले शिवखोला फ्रेण्ड्स क्लबलाई 2-0 गोलको अन्तरले पराजित गरेर ट्रफीसहित नगद राशि हत्यायो। फाइनल खेलको पहिलो हाफमा महानदीले एक गोल गरी बढ़त बनाए भने दोस्रो हाफमा पनि महानदीले फेरि अर्को गोल गरेर 2-0 को अन्तरमा विजय हासिल गर्यो। फाइनल खेलमा महानदीका खेलाड़ी निमेश तामाङ म्यान अफ् म्याच चयन भएका छन् भने म्यान अफ् द टुर्नामेन्ट ट्रफी शिवखोलाका खेलाड़ी गौरव तामाङलाई प्रदान गरियो। फाइनल खेल शुरू हुन अघि युवतीहरूको सिविटार तितिरी गाउँ र शिव खोलामाझ प्रदर्शनी म्याच खेलाइयो, जसमा शिवखोलाले 1-0 गोलले जित्यो। फाइनल खेलमा मुख्य अतिथि गोजमुमो खरसाङ महकुमा समिति महासचिव अनोश थापा तथा अन्य अतिथिहरूमा गोजमुमो खरसाङ महकुमा समिति सदस्य टङ्क शर्मा, युवा मोर्चा तीनधारे महानदी समष्टीको कार्यकारी सभापति निखिल छेत्री, सचिव सञ्जीव मंगर, तीनधारे महानदी समष्टीको सांगठनिक सचिव उत्तम छेत्री लगायत सिविटार चियाबारीका मुन्सी ओमकार प्रधान, शिक्षकहरू हेमकुमार छेत्री र असीत राई, हेमराज छेत्री लगायत अन्यहरू उपस्थित थिए। विजयी दललाई मुख्य अतिथि अनोश थापाको बाहुलीबाट ट्रफीसहित नगदराशि 20 हजार प्रदान गरियो भने पराजित दल फ्रेण्ड्स युथ क्लब शिवखोलालाई ट्रफीसहित नगदराशि 15 हजार प्रदान गरियो।