कोलकाता: विभिन्न अड्कलबाजीलाई थन्को लगाउँदै अन्तत: जीटीएको चुनाउ पूर्व निर्धारित योजना अनुसार नै आगामी 26 जुनको दिन सम्पन्न हुने अब निश्चित भएको छ। जीटीए चुनाउ अनि यसको वैधतालाई लिएर आज कोलकाता उच्च न्यायालयमा भएको सुनवाई अवधि न्यालयका न्यायाधीश मौसमी भट्टाचार्यले जीटीए चुनाउ रोक्नबारे कुनै आदेश जारी गरेनन्। यसको साथै 26 जुनमा हुने चुनाउ परिणामको निम्ति पनि कुनै रोक लागेन। तथापि न्यायालयको निर्देश अनुसार हिज केन्द्रले जीटीएलाई लिएर के-कस्ता शपथ पत्र न्यायालयमा बुझाएको छ, सो बारे खुलस्त गरिएको छैन। अर्कोतिर, कोलकाता उच्च न्यायालयको सुनवाई पछि यता, जीटीए चुनाउका पक्षधर पार्टीहरू खुशी देखिन्छन् भने जीटीएको विरोधमा रहेका पार्टीका नेतृत्वगण तथा समर्थकहरूमा निराशा छाएको छ।
