सिलगढी : सीपीआईएम-का दुईजना पूर्व काउन्सिलर आज पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सिलगढी नगरनिगमको वार्ड नम्बर 28 को पूर्व पार्षद शर्मिला दास र 32 नम्बर वार्डका पूर्व पार्षद तापस च्याटर्जी आज दार्जिलिङ जिल्ला तृणमूल कार्यालय पुगेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। चेयरम्यान आलोक चक्रवर्ती, अध्यक्ष पापिया घोष र सिलगढी नगरनिगमका प्रशासक गौतम देवले पूर्व पार्षदहरूलाई दलीय झन्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा पापिया घोष र गौतम देव भने, धेरैजना मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल हुनको लागि आफूहरूसित सम्पर्क गरिरहेकोले जिल्ला नेतृत्व र राज्य नेतृत्वको निर्देशमा तिनीहरूलाई तृणमूल पार्टीमा सामेल गरिरहेका छौँ। अर्कोतिर, चुनाउअघि तृणमूल छोड़ेर भाजपामा सामेल भएका दीपक शील पनि आज पुनः तृणमूलमा फर्किआएका छन्। यसको साथै विभिन्न संगठनका धेरैजना आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।