खरसाङ: दार्जिलिङदेखि लद्दाखसम्म स्कुटीको यात्रा गर्ने खरसाङको घैयाबारी निवासी अर्जुन तामाङलाई आज यहाँको कारगिल एनजीओद्वारा संवर्द्धना जनाइयो। घैयाबारीको मानेडाँड़ास्थित सार्वजनिक भवनमा आज भूतपूर्व सैनिकहरूको संगठन कारगिल गैर सरकारी संस्थाद्वारा संवर्द्धना कार्यक्रमको आयोजना गरियो। उक्त संवर्द्धना कार्यक्रम कारगिल एनजीओका सभापति अर्जुन योञ्जनको अध्यक्षता र कुइनी मार्थाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यस अवसरमा दार्जिलिङदेखि लद्दाखसम्म स्कुटीमा नै यात्रा गरेर फर्केका घैयाबारीका अर्जुन तामाङलाई खदार्पणसहित संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा स्थानीयहरूले पनि तिनलाई खदार्पणसहित उपहारहरू प्रदान गरेर सम्मान गरे। कार्यक्रमलाई विशान तामाङले सञ्चालन गरेका थिए। खरसाङको घैयाबारी अन्तर्गत गैरी गाउँका अर्जुन तामाङ गत 6 अगस्तको दिन स्कुटीको यात्रा गर्दै घरबाट निस्केका थिए भने पाँचवटा राज्यहरू घुमेर लद्दाख पुगेर गत 28 अगस्तको दिन घर आइपुगेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै अर्जुन तामाङले आफू स्कुटीको यात्रा गर्दै 6 अगस्तमा निस्केर बिहार, उत्तर प्रदेश, दिल्ली, हरियाणा र हिमाञ्चल प्रदेश हुँदै लद्दाख पुगेर 28 अगस्तको दिन घर आइपुगेको बताए। तिनले अब भविष्यमा स्कुटीमा नै भारतको उत्तर पूर्वी राज्यहरूको भ्रमण गर्ने पनि बताएका छन्। त्यसरी नै स्कुटीमा नै लद्दाख पुगेर आउने अर्जुन तामाङलाई हामी कारगिल गैर सरकारी संस्थाद्वारा संवर्द्धना गरिएको संस्थाका सचिव रमेश प्रधानले पत्रकारहरूसितको कुराकानीमा बताए।
