दार्जिलिङ हिल्स युनिभर्सिटीको अस्तित्व र औचित्य मरणासन्न अवस्थामा आइपुग्नु चिन्ताको विषय: विनय तामाङ

दार्जिलिङ : दार्जिलिङ हिल्स विश्वविद्यालयको अस्तित्व र औचित्य अब मरणासन्न अवस्थामा आइपुगेको छ, यो अति चिन्ताको विषय हो भनि जीटीए सभासद विनय तामाङले बताएका छन्। तिनले यसबारे एउटा जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार बङ्गालको राजनीति शिकार सदैव हामी दार्जिलिङ पहाड़ हुने गर्दछ अनि आज शिक्षा जस्तो पवित्र विषयमा समेत हामीमा राजनीति नै हावी भएको छ। दार्जिलिङ हिल्स विश्वविद्यालय हाल बन्द अवस्थामा छ। विगत 6 महिनादेखि उप-कुलपतिको अभावमा, र यसले स्थायी रूपमा बन्द हुने सम्भावना छ। विगत दुई वर्षदेखि स्थायी उप-कुलपतिविना विश्वविद्यालय तदर्थका आधारमा सञ्चालन हुँदै आएको छ । पहाडमा छुट्टै विश्वविद्यालयको माग सन् 1955 देखि भएपनि दार्जिलिङ हिल्स विश्वविद्यालयले स्थानीय जनताको आकांक्षा पूरा गर्न सकेको छैन। मङपूको जोगीघाटमा सन् 2016 को सेप्टेम्बरमा शिलान्यास गरिए तापनि उक्त स्थानमा भवन निर्माण हुन सकेको छैन। यो पश्चिम बंगाल सरकारको कमजोरी हो ।मङपू आईटीआई भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रारम्भिक योजना पनि असफल भयो, यो स्थानीय गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अभिरूचीमा नियास्रोपनको कारण हो। विगत वर्षमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनि अन्य उच्च ओहोदामा बसेका व्यक्तित्वहरूले दार्जिलिङ हिल्स विश्वविद्यालयका त्यसताकका मनोनित उप-कुलपति अनि उनका टोली आउँदा जुन विभिन्न जग्गाहरूमा भ्रमण रहँदा खिचिएका फोटोहरू अनि त्यस समय दिएका ठुला-ठुला हुँकार वक्तव्यहरू अहिले गएर वेअर्थ अनर्थ साबित भएको छ। हामी यहाँ काम भन्दा पनि ज्यादा व्यक्तिको विज्ञापनमा विश्वास गर्छौ। अब अरू विषयहरूमा पनि यस्तै असफलता पाउनेछौ। प्रशासनिक अज्ञानता र शाषण प्रणाली सञ्चालनमा असक्षमता नै समस्याहरूको मुलभूत कारणहरू हुन्। हाम्रो विद्यार्थी नानीहरूको भविष्यमाथि ठुलो खेलवाड भइरहेका छन् तर यसको जिम्मावार कसले लिने भन्दै विनय तामाङले प्रश्न गरेका छन्।
यसैगरी, विश्वविद्यालयले प्राध्यापक र कर्मचारी नियुक्ति गर्न संघर्ष गरिरहेको छ, एनबीयू र कलेजहरूका प्राध्यापकहरूले अनलाइन कक्षा सञ्चालन गर्न छोडेको छ। दुर्भाग्यवश, उनीहरूले अझै पनि उनीहरूको प्रयासको लागि उचित पारिश्रमिक प्राप्त गर्न सकेका छैनन्। पछिल्लो उपकुलपति डा. प्रेम पोद्दारको कार्यकाल जून महिनामा सकिएपछि पद रिक्त थियो तर हालै महामहिम राज्यपालद्वारा अन्तरिम उपकुलपति नियुक्त भएका छन् ।
दार्जिलिङ हिल्स विश्वविद्यालयलाई पुनर्जीवित गर्न तत्काल आवश्यक कार्यहरू :
1. अफलाइन कक्षाहरू र विद्यार्थी र कर्मचारीहरूको लागि आवासको सुविधासहितको कार्यात्मक क्याम्पस यथाशीघ्र स्थापना गरिनु पर्नेछ।
2. नयाँ विषयहरूको लागि आवश्यक पर्नेहरू सहित प्रशासनिक र शैक्षिक पदहरू आवन्टित गरिनु पर्नेछ ।
3. विश्वविद्यालयको आधारभूत सञ्चालनको लागि आर्थिक सहयोग प्रदान गरिनु पर्नेछ ।
4. विश्वविद्यालयलाई प्रदान गरिएको जोगिघाट मङपूमा विश्वविद्यालय परिसरको निर्माण युद्धस्तरमा गरिनु पर्नेछ।
5. विश्वविद्यालय जोगिघाट मङपूमा निर्माण नभइनजेल पुरानो सर्वे मुताबिक आईटीआई मङपू, तकदाह इन्जिनियरिङ कालेज भवन अनि दार्जिलिङ गोर्खा रङमञ्च भवनको आंशिक भागलाई प्रयोगमा ल्याउनु पर्नेछ।
6. शिक्षा क्षेत्रलाई राजभवन र नवान्नमाझको मतभेददेखि अलग राख्नु पर्नेछ। साँढेको झुझाईमा बाछाको मिचाई हुँदैछ हामीमा।
गत 2 अक्टोबर 2023 मा महामहिम राज्यपालको कार्यालयबाट छ: वटा विश्वविद्यालयहरूमा अन्तरिम उप-कुलपतिहरूलाई नियुक्ति दिइयो तर अति दुःखको कुरो दार्जिलिङ हिल्स विश्वविद्यालयको अन्तरिम उप-कुलपतिका लागि गैर-शैक्षिक व्यक्ति नियुक्त गरिएको छ। हाल महामहिम राज्यपाल कार्यालयबाट मनोनित उपकुलपति सीएम रविन्द्रन एकजना अवकाशप्राप्त आईपीएस हुन तर शिक्षण विधाका होइनन्। किन गैर-शैक्षिक व्यक्ति हाम्रो विश्वविद्यालयमा ? के युजीसीको नम्समा गैर-शैक्षिक व्यक्तिलाई विश्वविद्यालयका उपकुलपतिको पद नियुक्ति दिने प्रावधानहरू छन् ? के दार्जिलिङ पहाडलाई अवहेलना गरिएको हो ? बुझ्न नितान्त आवश्यक छ ।
शिक्षा विभाग,पश्चिम बङाल सरकारद्वारा याचिका दायर गरेवापत सम्बन्धित विषय भारतको सर्वोच्च न्यायालयमा विचाराधीन भएता पनि दार्जिलिङ पहाड़लाई दुवै पक्षले सहानुभूतिपूर्वक हेरिदिने सभासद विनय तामाङले अनुरोध गरेका छन्। दार्जिलिङ हिल्स विश्वविद्यालय अनि यसमा आइपरेका समस्याहरूलाई लिएर सभासद विनय तामाङले पश्चिम बङालका राज्यपाल, मुख्यमन्त्री, शिक्षा विभागका भारप्राप्त मन्त्री लगायत युनिभर्सिटी ग्रान्ड कमिशनका उच्च पदस्थ अधिकारीहरूलाई पत्राचार गर्ने विज्ञप्तिमार्फत जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *