दार्जिलिङ (निसं): “मानव सेवा नै माधव सेवा” भन्ने सन्देशलार्इ लिएर दार्जिलिङको लिङ्गिया चियाकमानका सबै मानिसहरूले काम गरेर एक दिनको हाजिरालाई बिमारीहरूको उपचारको लागि दिने भएको छ। यस कार्यमा 58 वर्ष कमानमा कार्य गरेर अवकाश लिएका श्रमिकहरू लगायत हाल कार्यरत् श्रमिकहरू, शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू अनि हालैमा निर्वाचित बनेका ग्राम पञ्चायतका सदस्य, सम्पूर्ण समाजका ठुला बडा साथै युवा युवतीहरूले पनि हिजो एक दिनको काम गर्नमा सहभागिता जनाएका थिए। लिङ्गिया चियाबारीका सबै वर्गका मानिसहरूले एक दिनको श्रम गरेर संकलन गरेको रुपियाँ सबै बिमारीहरूको उपचारको लागि सहयोग गर्ने भएका छन्। यस कार्यमा कसैले चियापत्ती टिप्ने, कसैले बगान सर सफाई, फाँड्ने कार्यमा लागेका थिए। यसरी सबै मिलेर छुट्टीको दिन पनि बगानमा एक दिनको हाजिरामा काम गरेर बिमारीहरूलाई सहयोग गरिएको बताइएको छ। यस कार्यमा लागेका सबैजना खुशी देखिए।