खोरीबारी : विश्व मानव तस्कर दिवसलाई केन्द्र गरेर समाजमा महिला तथा नानीहरूको तस्करी रोक्न एवम् साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर दार्जिलिङ मेरी वार्ड सोशल सेन्टरको तर्फबाट आज खोरीबारी सबुज संघ क्लब मैदानमा विश्व मानव तस्करी विरोधी दिवस पालन गरियो। यस अवसरमा आज खोरीबारी बीडीओ अफिसबाट रैलीको माध्यमद्वारा मानिसहरूलाई जागरूक गराउनको साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। संगठनका कोअर्डिनेटर कौशिक राय चौधुरीले भने, मानव तस्करी रोक्ने उद्देश्य लिएर आज सचेतनता शिविरको आयोजना गरिएको हो। यस वर्ष प्रौद्योगिकीको उपयोग तथा दुरुपयोगको थीमबारे कार्य गरिरहेको छ। उक्त शिविरमा कञ्चनजङ्घा उद्धार केन्द्रका सदस्यहरू उपस्थित थिए।