दार्जिलिङ नगरपालिका चुनाउ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 29 बुँदे घोषणापत्र पत्र

हाम्रो चुनाउ चिन्ह: दमाहा/ ड्रम


दमाहाले गोर्खा संस्कृति झल्काउछ। हाम्रो संस्कृतिले हामीलाई हाम्रो जडसँग जोड्ने गर्छ। यो चिन्हले हामीलाई हाम्रो गौरवमय अतीतसँग जोड्छ। हाम्रो अतीत जहाँ हामी हाम्रो माटोसँग जोडिएका थियौं।

दमाहा (ड्रम) को ध्वनीले ती अशुभ हल्लाहरु, जसको कारणले हाम्रो माटो ग्रस्त छ, ती सबैलाई उडाई दिन्छ। नकारात्मक सोंचहरुले ध्वस्त भएको सिस्टम/ व्यवस्थाबाट नकारात्मकता हटाइदिन्छ। हाम्रो चिन्हले हाम्रो प्रेरणा अनि हाम्रो दार्जिलिङलाई जीवन्त, सुव्यवस्थित अनि आधारभूत सुविधाहरुले सम्पन्न आधुनिक सहरलाई दर्शाउँछ।


 ड्रमको आवाजले युद्ध लड्नु जाने सिपाहीलाई लड्नु प्रोत्साहान गर्छ। मन्दिरमा बज्ने ड्रमको ध्वनीले आध्यात्मिक ऊर्जा छर्छ। त्यसरी नै यो हाम्रो ड्रम/ दमाहामा जब जनताको शक्ति/ ऊर्जा सम्मिलित बन्छ तब जनताको प्रेरणालाई हाम्रो प्रेरणा बनाउँछ, चाहे ऊ युवा, श्रमिकवर्ग, गरिब भन्दा अझ गरिब, व्यवसायी, दैनिक रोजगार गर्ने व्यक्ति नै किन नहोस्। ड्रम घन्की नै रहनेछ, आवाज चर्किँदै जानेछ।

एकजुट भएर नै केही हुनु सक्छ,

हामी एकजुट भएर नै रहनेछौ

दार्जिलिङलाई मायाको खातिर

मेरो प्यारो दार्जिलिङको खातिर ।

 दार्जिलिङ नगरपालिका चुनाउ घोषणा-पत्र: 

विश्वप्रसिद्ध दार्जीलिङ पहाड्को सबैभन्दा जनप्रिय शान्तिदूतको रूपमा परिचित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दलले सम्पूर्ण दार्जिलिङ नगरपालिका वार्डबासीलाई साथमा लिएर दार्जिलिङ नगरपालिका चुनाउबारे घोषणा-पत्र जनता समक्ष राख्दछ।

सन्‌ 2850-मा स्थापित भएको दार्जीलिङ नगरपालिकाको गौरवमय इतिहासलाई हेर्दा साँच्चै हाम्रो नगरपालिका एउटा उदाहरणीय जनसेवा गर्ने प्रशासन थियो । स्थापनाकालमा दार्जीलिङ नगरपालिका अधीनस्थ भिक्टोरिया अस्पताल, फायर ब्रिगेड, सिद्राबुङ पावर हाउस र बिजुली विभाग, चारवटा पार्कहरू, पचासवटा प्राथमिक स्कूल अनि दुईवटा नगरपालिका माध्यमिक विद्यालय आदि रहेको थियो। बंगाल राज्यको एउटा धनी नगरपालिका भनेर दार्जीलिङ परिचित थियो। नगरपालिकाको स्वास्थ्य विभागले सम्पूर्ण जनता र विद्यार्थीहरूलाई विभिन्न प्रकारले स्वास्थ्य सेवा दिन्थ्यो । नगरपालिकाको खाद्यान्न जाँच विभागले प्रत्येक खाद्य-वस्तुहरूलाई देखरेख र नियन्त्रण गर्थ्यो। तर अहिले नगरपालिकाका विभिन्न विभागहरूमा प्रशिक्षित अधिकारी र सयौं कर्मचारीहरूको रिक्तपद भएको हुनाले दार्जिलिङ नगरपालिकाले चाहेर पनि कतिपय विषयहरूमा सेवा पुर्याउन सक्षम भइरहेको छैन|

विगत पैंतीस वर्ष अघिदेखि बिग्रिएर मरणासन्न अवस्थामा रहेको दार्जिलिङ नगरपालिका अन्तर्गतका 32 वटा वार्डहरूलाई साथै वार्डबासीका समस्याहरू जरैदेखि उखेलेर फ्याँक्न हाम्रो दल कटिबद्ध भएको छ। हाम्रो नगरपालिकाभित्रका सबैजसो समस्याहरूलाई हाम्रो टीमले राम्ररी अध्ययन गरिसकेको छ। यसलाई कसरी विगतको गौरवमय नगरपालिका बनाउने साथै पारदर्शी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा आफ्नो प्रतिबद्धता यस घोषणा-पत्र मार्फत जनता सामु राख्न चाहन्छौं ।दार्जिलिङ नगरपालिकाबाट प्राप्त गरिने सुविधाहरूलाई प्रत्येक जनताको घर दैलामा पुग्ने गरी विगतको गौरवमय इतिहास फेरि फर्काएर ल्याउनेछौं । यही विषयहरूलाई लिएर हाम्रो दलले योग्य उम्मेदवारहरू वार्डबासीको सुख-सुविधाका निम्ति चुनाउ मैदानमा उभ्याउने छन्‌।

हाम्रो घोषणा-पत्रमा भएका परिकल्पनाहरू हाम्रो दलले पूर्ण रूपले कार्यान्वयन गर्नेछ| हाम्रो दलले दार्जीलिङ नगरपालिका बोर्ड गठनपछि 32 वटा वार्डमा नै एक-एकवटा नगरपालिका सम्बन्धित नगरपालिका हेल्प-डेस्क स्थापित गर्नेछ, जसले गर्दा प्रत्येक वार्डका जनताले नगरपालिकाको कार्यालयमा घरिघरि पुग्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन्‌। जनतालाई चाहिएको विभिन्न जन्म प्रमाण-पत्र, मृत्यु प्रमाण-पत्र, लाइसेन्स आदि प्रत्येक वार्डका हेल्प-डेस्कमार्फत नै प्राप्त गर्नेछन्‌। नगरपालिका सम्बन्धित होल्डिङ ट्याक्स र अन्य ट्याक्सहरू पनि यसै कार्यालयका सहयोगीमार्फत जमा गर्न सकिनेछ। यो चुनाउ घोषणा पत्र  दार्जीलिङ सहरका निवासीहरुले दिनु भएको सुझाव, सोसियल मिडियामा हामीले चलाएको सुझाव जमा गर्ने सोसियल मिडिया अभियान (मेसेन्जर, वाट्सएप, ई-मेल आदि) मार्फत पाएका सुझाउको आधारमा बनाएका हौं। चुनाउ घोषणा पत्रमा उल्लेख गरिएको सबै संकल्पहरु हाम्रो बोर्डले कार्यमा परिणत गर्नेछ।

 दार्जिलिङ नगरपालिकालाई लिएर हाम्रो पक्षबाट संक्षिप्त घोषणा-पत्र यहाँ राखेका छौं –

सुशासन :

१. दार्जिलिङ नगरपालिकालाई नगर निगमको दर्जा दिलाइने:

दार्जिलिङ नगरपालिका  1950 मा स्थापित भएको पुरानो नगरपालिकाहरू मध्ये एक हो तर 172 वर्षपछि पनि नगरपालिकालाई नगर निगमको दर्जा दिइएको छैन। दार्जिलिङलाई सफा अनि स्वस्थ बनाउन, नगर निगमले थप कर्मचारीहरु नियुक्त गरेर जनता अनि पर्यटकलाई चाहिने मूलभूत सुविधाहरु दिलाउन सक्षम बन्छ।

२. लिजमा बसोबास गर्ने नागरिकहरुलाई जमीनको पट्टा:

दार्जिलिङ नगरपालिकाको आफ्नै 44 ऐकर जमीन छ। यो निजी भूमिलाई विभिन्न कार्यहरूको निम्ति 30 वर्षीय लिजको आधारमा दिइने गरिन्छ। तर यो लिजमा बस्ने नागरिकहरुको आफ्नो जमीन नभएको कारण नागरिकहरुलाई लोन लिनु साथै अन्य साहुलियत पाउनु कठिन भएको छ। त्यसैले लिजमा वसोबास गर्ने नागरिकहरुलाई जमीनको पट्टा दिलाउने व्यवस्था गर्नेछौ।

३. दैलोमा नगरपालिका :

नगरपालिकाले दिने सेवाहरुलाई नागरिकको घर दैलो सम्म पुर्याउन, हाम्रो बोर्डले हरेक वार्डमा नगरपालिका सहायता केन्द्र सञ्चालन गर्नेछ। यो सहायता केन्द्रलाई हामी भन्नेछौं ” दैलोमा नगरपालिका “।

४.  ढल निकास प्रणालीमा सुधार (sewerage system):

नयाँ बोर्डले सहरमा बग्ने नालाहरु जो जाम भएका छन्, सफा गर्न साथै नयाँ नालाहरु बिछाउन डीपीआर तयार गरी सरकार समक्ष पेश गर्नेछ। तरल ढल (Liquid waste)  निकासीको कुनै व्यवस्थापन नभएको हुनाले, एउटा प्रबुद्ध समितिको नेतृत्वमा योजना तयार गर्नेछौ।

५. तारजेलिङ देखि दार्जिलिङ :

हाम्रो बोर्डले दार्जिलिङ शहरलाई नै कुरुप बनाउने जता-ततै झुन्डिएको तारलाई, सम्हाल्ने कार्य गर्न एउटा डीपीआर तयार गर्नेछ। जमीन मुनिबाट यी तारहरु लगिने योजना बनाएर काम गर्नेछ।

६. दार्जिलिङ नगरपालिकामा दैनिक हाजिरामा कार्य गर्ने अस्थायी कर्मचारीहरुको समस्या समाधान गर्नेछौ। वर्तमान नगरपालिकाको कर्मचारीको पदोन्नतिको मुद्दालाई पश्चिम बंगाल सरकार समक्ष उठाउनेछौ।

७. नगरपालिकाका कर्मचारीहरूको कार्य गर्ने वातावरणमा सुधार ल्याउने छौं। तिनीहरूको कार्यको प्रभावकारीता हेरेर आर्थिक वृद्धि गरिनेछ। सबै कर्मचारीको सामाजिक सरक्षाको प्रत्याभूति (ग्यारेन्टी) सुनिश्चित गर्नेछौ। नगरपालिकामा नयाँ नोकरी केवल दार्जिलिङका खाँटी रैथानेलाई मात्र दिइनेछ।

८. दार्जिलिङवासीले हरेक वर्ष दिनु पर्ने कर (ट्याक्स)मा राहत दिलाउने छौ। गरिबी रेखा मुनिका (बीपीएल) परिवारले दिनुपर्ने ट्याक्समा कटौती गर्नेछौ।

९. दार्जिलिङ शहरमा बढ्दै गरेको वेरोजगारको समस्यालाई समाधान गर्न, युवा व्यवसायी अनि बेरोजगारहरुको निम्ति स्टार्ट अप कार्यक्रम/ पहल सुरु गर्नेछौ।

१०. 32 वटा नगरपालिका वार्डमा नै म्युनिसिपल वार्ड कमिटी गठन गरिनेछ। यस वार्ड कमिटीमा वार्डका सम्माननीय व्यक्ति, अनुभवी विशेषज्ञ, शिक्षाविद्‌, समाजसेवी, डाक्टर, इन्जिनियर, अधिवक्ता आदि महानुभावहरूलाई सदस्य बनाइनेछ अनि वहाँहरूको परामर्श अनुसार नै वार्डको विकास गरिनेछ।

११.  दार्जिलिङ नगरपालिकाको हरेक विभागको सेवालाई हरेक नगरवासी समक्ष पुर्याउन, नयाँ बोर्डले West Bengal Right to Public Service  Commission (WBPSC) लागू गर्नेछ। यो अधिकार लागू गर्दा नगरपालिकाको सेवाहरु माथि नियन्त्रण अनि निरीक्षणको कार्यलाई अझ शक्तिशाली बनाउनु सकिन्छ। उपभोक्ताले गुणात्मक सेवा पाउनेछन्। जनताको सेवकहरूको जवाफदेही बढेर जानेछ।

१२.  नयाँ बोर्डले दार्जिलिङ नगरपालिकाको सेवालाई जन समक्ष पुर्याउन, विभागको हरेक कार्यलाई पारदर्शी राख्नेछ। यसको साथमा हरेक वार्डमा जनताको आवाजलाई नगर अध्यक्षसम्म पुर्याउन “गुनासो निवारण” सेल स्थापना गर्नेछ। यो सेल नगरअध्यक्षको नियन्त्रणमा रहनेछ। वार्डवासीलाई आफ्नो गुनासो नगर अध्यक्षसम्म पुर्याउन अलग्गै वाट्सएप (WhatsApp) नम्बर सार्वजनिक गरिनेछ।

 फोहोर व्यवस्था:

१३.  विषेशज्ञहरुको परामर्श अनि सहयोग लिएर दार्जीलिङ नगरपालिकाले Sustainable Solid Waste Management को योजना तयार गरी कार्यमा परिणत गर्नेछ। योजना 3R सिद्धान्त (Reduce, Reuse, Recycle) माथि आधारित हुनेछ। जमिन प्रदूषण गर्ने फोहोर मैलाको व्यवस्थापन गर्नेछौ।

१४. जैविक फोहोरको व्यवस्थापन गर्न हामी हरेक वार्डमा मल (खाद) उत्पादन गर्ने पहल सुरु गर्नेछौ। यसरी मल (खाद) उत्पादन गर्दा फ्याँकिएको खाद्य पदार्थको असल व्यवस्था हुनेछ साथै नगरपालिकाको आयको स्रोत पनि हुनेछ। स्थानीय युवाहरुको रोजगारलाई प्रोत्साहन गर्न प्रत्येक घरको दैलोबाट फोहोर मैला बटुलेर लैजाने व्यवस्था गरिनेछ।

१५.  32 वटा वार्डबाट ल्याइएको फोहोर-मैलालाई हामी बायो ग्यास प्लान्ट जडान गरेर बायो ग्यास उत्पादन गर्नेछौ।

१६. वेस्ट टु वेल्थ :

नगरपालिकाले जीवन उपार्जन सिद्धान्तलाई आधार गरेर वेस्ट टु वेल्थ पहलमार्फत ठोस फोहोरलाई व्यवस्थापन गर्न मल उत्पादन, खाद्य बगैचा, रिसाइक्लिङ युनिट, क्राफ्ट आदिको पहल गर्नेछ।

१७. हरेक वार्डमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालीकाले कानुन तयार गर्नेछ।

असल नगरपालिकाको सेवाहरु :

१८.  पब्लिक शौचालयको व्यवस्था:

वर्तमान सञ्चालित पब्लिक शौचालयलाई नवीन बनाइने छ। सही जगह खोजेर थप आधुनिक पब्लिक शौचालयको निर्माण गर्नेछौ ताकि साधारण जनता अनि पर्यटकहरूलाई झाडा पिसाब गर्न सुविधा पुगोस।

१९.  24 घण्टा पिउने पानी उपलब्ध गराउन हाम्रो बोर्डले  प्रत्येक पाइप लाइनमा मीटर जडानको व्यवस्था सुरू गर्नेछ।

२०.  अमृत पेय जल परियोजनाको हामी समीक्षा गर्नेछौ अनि एक वर्ष भित्रमा प्रत्येक घर-घरमा पिउने पानी पुर्याउनेछौ।

२१. स्ट्रिट लाईट:

हाम्रो बोर्डले हरेक वार्डको बाटोलाई उज्यालो राख्न  सोलार लाईट जडान गर्नेछ। यसो गर्दा नगरपालिकाको विद्युतमा हुने खर्च बाँच्ने छ। त्यो खर्चलाई अन्य विकाशमुलक कार्यमा लगानी गर्नेछौ।

२२. फुटपाथ पसलेहरुको निम्ति नयाँ हकर्स बजार निर्माण गर्नेछौ। जसले अहिले माल रोड अनि ओरिएन्टको उकालो बाटोमा पसल थाप्छन्।

ड्रग्स मुक्त दार्जिलिङ सहर:

२३.  ड्रग्स दुरुपयोगले ल्याएको समस्या निवारण गर्न नगरपालिकाले लतमा लागेका बिरामीहरूको निम्ति बोर्डको स्वास्थ्य विभाग अन्तर्गत नि:शुल्क Detoxification केन्द्र सञ्चालन गर्नेछ। हरेक वार्डमा ड्रग्स दुरुपयोग विषय जनचेतना कार्यकर्म चलाउनेछ।

२४. भुसिया कुकुरहरूको समस्या समाधान गर्न, सडकमा कुदिहिड्ने मालिक विहिन कुकुरहरूको गर्भ निरोधक कार्यक्रम चलाउने छौ। साथै कुकुर मालिकहरूको निम्ति डग लाइसेन्सको पहल सुरु गर्नेछौ।

२५. दार्जिलिङवासीको स्वास्थ्यलाई केन्द्रमा राखी स्वास्थ्य प्रेमी अनि बिहान बिहान टहल्नेहरुको निम्ति माल रोडमा खुल्ला जिम स्थापना गर्नेछौ।

२६. “दैलोमा आरोग्य” पहलमार्फत बोर्डले नगरवासीको स्वास्थ्य सुरक्षा हेतु स्वास्थ्य सेवा प्रत्येक घरको दैलोमा पुर्याउनेछ।

२७.  गाडीको हर्नको आवाजले वातावरण प्रदूषित भएको अनि स्थानीय वासिन्दालाई दिग्दारी भएको धेरै गुनासोहरु छ। दार्जिलिङ नगरपालिकाले दार्जिलिङ पुलिससँग मिलेर दार्जिलिङ सहरलाई “हर्न मुक्त क्षेत्र” घोषणा गर्न पहल चलाउनेछ।

२८. दार्जिलिङ नगरपालिकाले सूचना आदिमा प्रयोग गर्ने आधिकारिक भाषा (अफिसियल ) नेपाली अनि अङ्ग्रेजी हुनेछ।

२९. नगरपालीकाले हरेक वर्ष अन्तर वार्ड खेलकुद प्रतियोगिताको आयोजना गर्नेछ। यसले युवाहरूलाई खेलप्रति प्रोत्साहन दिनेछ। यसरी नै युवा सृजनशील मस्तिष्कलाई प्रोत्साहन गर्न अन्तर वार्ड प्रतियोगिता आयोजना गर्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *