सिलगढी : सिलगढी थाना पुलिसले देह व्यवसाय चलाएको आरोपमा दम्पतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका दम्पति मूल रूपमा वर्धमान निवासी सुरजीत मण्डल र सोनाली खातुन मण्डलको रूपमा चिन्हित गरिएको छ। गत केही वर्ष अघिदेखि ती दुई लोग्ने-स्वास्नी सिलगढीमा एउटा भाडाको घरमा बस्दै आइरहेका थिए। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त दम्पतिले पहिला भक्तिनगर थानास्थित इस्कन रोड इलाकामा देह व्यवसाय चलाउने गर्थे भने हाल ती दुई लोग्ने-स्वास्नी सिलगढी थाना अन्तर्गत पर्ने रविन्द्र नगर इलाकामा देह व्यवसाय चलाउँदै आइरहेको बताइएको छ। यसपल्ट मुर्शिदाबाद निवासी एउटी युवतीले उक्त लोग्ने-स्वास्नी चलाउँदै आइरहेको देह व्यवसायको खुलासा गरिदिएको छ। उक्त युवतीको सहयोगमा पुलिसले एउटा विशेष प्लान बनाएर देह व्यवसाय चलाएको आरोपमा मण्डल दम्पतिलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, पुलिसले उक्त अभियोगकर्ता युवतीलाई तिनको घर पुर्याउने प्रयास गरिरहेको छ। हाल उक्त देह व्यवसाय मामिलाको जाँच सिलगढी महिला थाना पुलिसले गरिरहेको छ।
