सिलगढी : डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम विफल रहेको आरोप लगाउँदै यसको प्रतिवादमा सिलगढी वेलफेयर अर्गनाइजेशनले आज संगठनको कार्यालय अघि मानव बन्धन कार्यक्रमको आयोजना गर्यो। सिलगढी वेलफेयर अर्गनाइजेशनका सदस्यहरूको आरोप अनुसार सिलगढीमा डेङ्गु संक्रमणको संख्या बढ्दै गइरहेको छ भने डेङ्गुले गर्दा धेरैजनाको मृत्यु समेत भइसकेको छ। तरै पनि सिलगढी नगरनिगम डेङ्गुको रोकथाम गर्नमा विफल भएको छ। सिलगढी सहरमा ठाउँ-ठाउँमा फोहोर मैला जम्मा भएको साथै यहाँका नालीहरू राम्रोसँगले सफा गरिएको छैन। यसबाहेक सहरको नर्सिङ होम तथा प्याथोलजी ल्याबहरूले डेङ्गुको फाइदा उठाएर रोगीहरूलाई लुटिरहेको छ। यसैको विरोध जनाउँदै आज आफूहरूले उक्त मानव बन्धन कार्यक्रमको आयोजना गरिएको हो। संस्थाका सदस्य अभिजीत मजुमदारले भने, वर्तमान नगर बोर्डले केवल वाचा मात्र गर्ने गर्दछ तर कामको मामिलामा पूर्ण रूपमा विफल छ। यसैले डेङ्गुको रोकथामको लागि मुख्यमन्त्रीले हस्तक्षेप गर्नुपर्ने आफूहरूको माग गरेका हौँ। यसको साथै सहरका नर्सिङ होमहरूमा पनि लगाम लगाउने माग गरिरहेका छौँ।
