धनतेरससँगै तिहारको रमझमले खरसाङ बजारमा मानिसहरूको भीड

खरसाङ (निसं): आजदेखि तिहार शुरु भएको छ भने तिहारको रमझम खरसाङ बजारमा निक्कै देखिएको छ। आज खरसाङ बजारमा धनतेरस सौदापात गर्नलाई मानिसहरूको बिहानैदेखि भीड़ देखियो। तथापि यसपाली धनतेरस आज र भोलि भनेर भनिएकोले गर्दा मानिसहरू अन्योलमा रहेको बुझियो तर पनि मानिसहरूले आज पनि धनतेरसको सौदापातहरू गरिरहेका छन्। त्यसैले पनि हो गत वर्षको तुलनामा यसपाली धनतेरसको अवसरमा पनि निक्कै कम व्यापार भइरहेको दोकानदारहरूका भनाई रहेको छ। यस प्रसंगमा खरसाङ बजारको एकजना व्यापारी राजकुमार अग्रवालले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली धनतेरस दुई दिन परेको कारणले आज व्यापार कम्ती रहेको अनि गत वर्षको तुलनामा व्यापार निक्कै कम रहेको बताएका छन्।


त्यसरी नै खरसाङको हाट बजारमा रहेको सुन दोकानको एकजना व्यापारी शैलेन्द्र प्रसादले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा यसपाली गत वर्षको तुलनामा सुनको बिक्री केही राम्रो नै रहेको बताएका छन्। तिनले गत वर्ष कोरोनाको कारणले व्यापार राम्रो नभएको तर यसपाली सुनको राम्रै व्यापार भइरहेको र मानिसहरूले धनतेरसको अवसरमा सुनका सर-सामानहरू किनिरहेको बताएका छन्। मानिसहरूले आज धनतेरसको अवसरमा खरसाङ बजारमा ताँबा, सिल्भर, पित्तल, काँसाको विभिन्न सामानहरू किनिरहेको देखिएको छ। धनतेरसको सौदापात साथै तिहारको तयारीको लागि पनि मानिसहरूले बजारमा निक्कै सौदापातहरू गरिरहेको देखियो। तिहारमा चाहिने झिलमिली सर-सामानहरू र अन्य विभिन्न सामानहरू पनि मानिसहरूले किनिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *