सोनादा: धोकाधड़ी गरेर रुपियाँ निकाल्ने गुटको तीनजनालाई सोनादा पुलिस पक्राउ गर्न सफल बनेको छ। सोनादाका एकजना महिलाले पुलिसमा गरेको उजुरीको आधारमा सोनादा पुलिस आउटपोष्टकी ओसी बन्दना प्रधानको अगुवाईमा फोनमा धोकाधड़ी गरेर पैसा निकाल्ने गिरोहको तीनजनालाई पश्चिम बंगालको वर्द्धमान जिल्लाबाट पक्राउ गर्न सफल भएको छ। घटनाक्रम अनुसार गत 14 सेप्टेम्बर 2021 को दिन सोनादाको एकजना व्यक्तिलाई कस्टमर केयरबाट फोन गरेको भन्दै तिनको ब्याङ्क एकाउन्टबाट रुपियाँ निकालेको थियो। यसपछि तिनकी पत्नीले पुलिसमा यसबारे उजुरी गरेपछि सोनादा पुलिसले छानबीन शुरू गरेको थियो। पुलिसको छनबीनमा फोन आएको नम्बर ट्रेस गर्दा वर्द्धमानमा रहेको थाहा पाएपछि दार्जिलिङ साइबर क्राइम ब्राञ्च र सोनादा पुलिस आउट पोष्टको संयुक्त प्रयासमा वर्द्धमान पुगेर गत 7 अक्टोबरको दिन पिजुस गोराई, सोभिङ दास र सोनु गोराई नामक तीनजनालाई पक्राउ गरेर ल्याएपछि हिजो 9 अक्टोबरको दिन दार्जिलिङ कोर्टमा पेश गर्यो। कोर्टले तीनैजनालाई 6 दिनको पुलिस रिमाण्डमा पठाएको छ। यस विषयमा सोनादा पुलिस आउट पोष्टकी ओसी बन्दना प्रधानले दिएको जानकारीअनुसार सोनादामा फोनमार्फत् ठगेर रुपियाँ निकाल्ने गुटविरुद्ध सोनादाकी एकजना महिलाले गरेकी नालिसको आधारमा छानबीन गरेर तीनजना आरोपीलाई वर्द्धमान जिल्लाबाट पक्राउ गरेको हो। तिनीहरूलाई कोर्टमा पेश गरेपछि पुलिस हिरासतमा लिएर हाल सोधखोज जारी रहेको तिनले बताइन्।