राजगञ्ज (निसं): एकै रातमा राजगञ्ज ब्लकको केही ठाउँबाट बिजुली ट्रान्सफार्मरको कटआउट चोरी भएको घटना प्रकाशमा आएको छ। कटआउटको चोरी भएपछि राजगञ्ज ब्लकको विभिन्न इलाकामा बिजुली परिसेवा ठप्प बनेपछि गर्मीको समयमा यहाँका मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति राजगञ्जको पानीकौरी मोड, बाबुपाडा र सुभाषपल्लीमा ट्रान्सफार्मर कटआउट लगायत बिजुलीको समानहरू चोरी भएपछि इलाकामा गत रातिदेखि आज बिहान केही घण्टासम्म बिजुली आपूर्ति बन्द थियो। स्थानीय मानिसहरूले बताएअनुसार रातिको अँध्यारोको फाइदा उठाएर कसैले बिजुली ट्रान्सफार्मरको कटआउट चोरी गरेपछि इलाकामा रातभरि बिजुली परिसेवा ठप्प बनेपछि गर्मीको समयमा आफूहरूलाई निक्कै असुविधा भएको थियो। तथापि, बिहान बिजुली विभागका कर्मचारीहरू इलाकामा आएर बिजुली परिसेवा सुचारु गरिदिएको छ।