राजगञ्ज : राजगञ्जको फुलबारी संलग्न मर्डर मोडमा एकजना युवकको शव रक्ताम्मे अवस्थामा उद्धर भएको छ। मृतक युवक उत्तर दिनाजपुर जिल्लाको चोपडा ब्लकको घिरनी गाउँ निवास 25 वर्षीय सद्दाम हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त युवकको घाटीको श्वास नली काट्नको साथै पेटमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेको बताइएको छ। उक्त युवकले फुलबारीबाट ढुङ्गा बङ्ग्लादेश निर्यात गर्ने व्यवसाय गर्दथे। उक्त युवक जोटियाकालीमा एउटा घर भाडामा लिएर बस्दै आइरहेका थिए। तिनको स्वास्नी र एउटा नानी रहेको छ।
स्थानीय मानिसहरूले बताएअनुसार हिजो राति उक्त युवकलाई मर्डर मोड इलाकामा रक्ताम्मे अवस्थामा फोन मार्फत् कसैसित सम्पर्क गर्ने प्रयास गर्दै दौडिरहेका थिए भने केही टाढा पुग्न नपाई तिनी भुइँमा लड़े। यसपछि घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई घाइते अवस्थामा उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले घटनास्थल छेउबाट रक्सीको बोतल र बाइकको चाबी उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।