फूलबारी, 27 जून (निसं): फूलबारीमा गत राति भएको दुई भिन्न-भिन्नै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यी दुइवटै दुःखद दुर्घटना सिलगढी नजिक फूलबारी क्षेत्रको जियागञ्ज र बटालियन मोडमा शुक्रबार राति घटेका हुन्।
पहिलो दुर्घटना जियागञ्ज नजिकको क्षेत्रमा राति लगभग 2:30 बजे भएको थियो, जहाँ एउटा ठूलो मालवाहक ट्रेलर र दूधको ट्याङकर आपस्तमा ठोक्किएका थिए। ठक्करपछिको झट्कामा दूधको ट्याङकरको अगाडीको क्याबिन पूर्ण रूपमा चकनाचुर भयो र चालक भित्रै फँसे। खबर पाएपछि न्यू जलपाईगढी पुलिस घटनास्थलमा पुगेर निक्कै प्रयास गरेपछि चालकलाई बाहिर निकालेका थिए, तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो।
दोस्रो दुर्घटना, बिहान लगभग 3:30 बजे बटालियन मोड नजिकको क्षेत्रमा भएको हो, जहाँ एउटा तेल ट्याङकर र मालवाहक सवारी आपसमा ठोक्किएका थिए। यस ठक्करले मालवाहकको अगाडिको भाग क्षतिग्रस्त बनायो र चालक क्याबिनमै फँसे। पुलिस र दमकल टोलीले धेरै प्रयासपछि चालकलाई बाहिर निकाले, तर उनी गम्भीर रूपमा घाइते भएका छन्। यो दुर्घटनामा सह-चालक पनि घाइते भएका छन्।
दुवै घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। दुवै घटनामा संलग्न वाहनहरूलाई पुलिसले नियन्त्रणमा लिई थानामा लगेको छ। न्यू जलपाईगढी पुलिसले घटनाको विस्तृत जाँच सुरु गरिसकेको छ।