फुलबारी : फुलबारीमा डीवाईएफआई-को पथसभा सम्पन्न भयो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको फुलबारी मोडमा आज डीवाईएफआई-को पथसभा सम्पन्न भयो। उक्त पथसभामा डीवाईएफआई नेतृ मिनाक्षी मुखर्जी उपस्थित थिइन्। प्राप्त जानकारी अनुसार आगामी 13 अप्रेलमा विविध मागलाई लिएर सीपीएमको युवा संगठन डीवाईएफआई-द्वारा उत्तरकन्या अभियान रहेको छ। यसैलाई केन्द्र गरेर आज फुलबारीमा पथसभाको आयोजना गरिएको हो। पथसभालाई सम्बोधन गर्दै मिनाक्षी मुखर्जीले भनिन्, आगामी 13 अप्रेलमा सिलगढीको महानन्दा ब्रिजबाट उत्तरकन्या अभियान शुरू गरिने भएको छ। दार्जिलिङ जिल्ला लगायत सम्पूर्ण राज्यलाई नै चोरी, भ्रष्टाचार, हत्या माफियाको अँध्यारोबाट उज्यालोतर्फ फर्काइ ल्याउने उद्देश्यले उत्तरकन्या अभियान गरिने भएको छ। उक्त अभियानमा सबै युवा कमरेडहरूलाई सामेल हुने तिनले आहवान गरेकी छन्।
