फुलबारी : फुलबारीमा 43 केजी गाँजा सहित 4 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा कुचबिहार जिल्ला निवासी देवाशीष सरकार, पवित्र बर्मन, निर्मल दास र नीलकमल सरकार सामेल छन्। प्राप्त जानकारी अनुसार गत साँझ पुलिसले फुलबारी गजलडोबा क्यानल सडकको पुटीमारी इलाकामा एउटा वाहनको गोप्य च्याम्बरबाट 43 केजी गाँजा उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत साँझ फुलबारी गजलडोबा टिस्टा क्यानल सडकको पुटीमारी इलाकामा एउटा वाहन रोकेर छानबीन गर्दा वाहनको गोप्य च्याम्बरबाट लगभग 43 केजी गाँजा उद्धार गरेको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 5 लाख रुपियाँ रहेको छ भने उक्त गाँजा कुचबिहारदेखि नदियामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पुलिसले उक्त घटनामा 4 जना तस्कर सहित वाहन पनि जफत गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
