सिलगढी : कोभिड भ्याक्सिनको दोस्रो खोप लगाउनको लागि आज बिहानैदेखि लाइनमा बसे तापनि भ्याक्सिन लगाउन नपाएपछि तिनीहरूले विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार सिलगढीको प्रधाननगर, चम्पासरी इलाकाका केही मानिसहरूले गत महिनाको पहिलो सप्ताहमै श्रीगुरू विद्यामन्दिर मैदानमा नगर प्राथमिक स्वास्थ्य केन्द्र 7 मा गएर भ्याक्सिनको पहिलो खोप लगाएका थिए। तर दोस्रो खोप लगाउने समय भइसके तापनि हालसम्म तिनीहरूले लगाउन पाएका छैनन्। भ्याक्सिनको दोस्रो खोप लगाउनको लागि मानिसहरू आज बिहान 4 बजीदेखि लाइनमा उभिएका थिए भने धेरै घण्टासम्म लाइनमा उभिएपछि स्वास्थ्य कर्मीहरूले भ्याक्सिन नभएको जानकारी दिँदै दोस्रो खोप आज नलगाइने बताए। यसपछि तिनीहरूले आक्रोशित बनेर क्षोभ प्रकट गरे। भ्याक्सिन लगाउन आएकी प्रधाननगर निवासी गीत रायले बताएअनुसार गत 12 अप्रेलको दिन कोभिड भ्याक्सिनको पहिलो खोप लगाएकी थिइन् भने दोस्रो खोप लगाउनको लागि केही दिनदेखि उक्त स्वास्थ्य केन्द्रको चक्कर लगाउन परिरहेको छ। आज बिहानैदेखि लाइनमा उभिए तापनि भ्याक्सिनको दोस्रो खोप उपलब्ध नरहेको स्वास्थ्य कर्मीहरूले बताएपछि अब कहिले लगाइने हो भन्ने बारे पनि हालसम्म स्पष्ट नभएको तिनले बताइन्।