घुम्ती कमान खोलिएपछि आजदेखि श्रमिकहरूद्वारा काम शुरू  

खरसाङ: प्रबन्धन पक्ष र श्रमिकहरूमाझ उत्पन्न भएको समस्या समाधान भएपछि आज शनिबार बिहानदेखि खरसाङको घुम्ती चियाबारी पुनः खोलियो। चियाबारी खोलिएपछि घुम्ती चियाबारीका श्रमिकहरू कमानको काममा गए। घुम्ती चियाबारीका श्रमिकहरूको दाउराको पैसा अनि छुट्टी नमिल्दा प्रबन्धन पक्ष र श्रमिकहरूमाझ समस्या उत्पन्न भएपछि गत 5 मार्चको दिन प्रबन्धन पक्षले असुरक्षित महसुस गरेर कारखानामा नोटिस टाँसेर कमान लक डाउनको घोषणा गरेको थियो। लगभग एक सप्ताह बन्द भएपछि आजदेखि बगान पुनः खोलिएपछि श्रमिकहरूमा खुसी देखापर्यो। बगान खोल्नको लागि हिजो शुक्रबार सिलगढीको डागापुरस्थित श्रमिक भवनमा सम्पन्न सभामा प्रबन्धन पक्ष, युनियन र श्रमिकहरूमाझ आपसी सहमति भएपछि नै कमान खोल्ने निर्णय भएको थियो।


सह श्रम आयुक्तले उक्त बैठकमा मध्यस्थता गरेका थिए। सभामा लिएको निर्णय अनुसार चियाबारी श्रमिकहरूलाई दाउरा दिने र रहल वेतन पनि दिइने भएपछि आजदेखि बगान खोलिएको बताइएको छ। आज बिहान 7 बजे घुम्ती कमानको कारखाना परिसरमा श्रमिकहरू भेला भएपछि आ-आफ्नो काममा गए। श्रमिकहरू बगानमा जान अघि भागोप्रमो-को श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर युनियनका प्रतिनिधिहरू उपस्थित भएर श्रमिकहरूलाई सम्बोधन गर्दै हिजको सभा विषयमा चियाबारीका श्रमिकहरूलाई विस्तृत रूपमा अवगत गराए।  त्यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर यूनियन केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानले पनि आजदेखि खोलिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आपसी सहमतिमा बगान खोलिएको बताए। घुम्ती कमानका प्रबन्धक डीके मिश्रले बताएअनुसार हिज प्रबन्धन पक्ष, युनियन, श्रमिकहरू र सरकार पक्षमा सभा भएर आजदेखि बगान खोलिने विषयमा सहमति भएअनुसार आजदेखि बगान खोलिएको हो। तिनले कमानमा सबैलाई शान्ति बनाइ राख्ने साथै श्रमिकहरूले आफ्नै कमान सम्झेर कार्य गर्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *