गोजमुमो बिमल पन्थी तीनधारे खण्ड समितिको सभा सम्पन्न

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमलपन्थी तीनधारे खण्ड समितिको सभा यहाँको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा सम्पन्न भयो। खण्ड समितिका सभापति प्रसाद लाबरको अध्यक्षता तथा केन्द्रीय समितिका सह सचिव बिमल दर्जीको पर्यवेक्षणमा सम्पन्न सभालाई तीनधारे खण्ड समितिका सचिव अजय विश्वकर्मले सञ्चालन गर्दै उपस्थित सबैलाई स्वागत जनाए। तिनले सभाको विषय वस्तुबारे उपस्थित सबैलाई जानकारी गराए। सभामा असुरक्षित बेरोजगार केन्द्र समितिका उपाध्यक्ष युकास प्रधानले सबै पदाधिकारीवर्ग र अग्रजहरूलाई तीनधारे खण्ड समितिलाई पथ प्रदर्शन गरिदिने आग्रह गरे। सभामा तीनधारे खण्ड समितिको आयोजनामा नारी मोर्चाको सभा राखिने र यसमा जीपीटीओले पनि प्रतिनिधि दिने निर्णय लिएको छ। सभामा जीपीटीओको केन्द्रीय सदस्य संग्राम मणि वाईबाले पदाधिकारीहरूमाथि मात्र भर नपरेर सबैले संगठनलाई विस्तरमा सहयोग गर्नु पर्ने आह्वान् पनि गरे। यसैगरी, युवा मोर्चाको खरसाङ महकुमा समितिका सदस्य युवराज प्रधानले खण्ड समितिमा सम्पर्क नभएकोमा खेद प्रकट गर्दै सबैले खण्ड समितिमा सम्पर्क गर्नु पर्ने र खण्ड समितिको सबैको सूची तयार पार्नु पर्ने बताए। तिनले नारी मोर्चा, युवा मोर्चा, श्रमिक संगठन र अल्पसंख्यकहरूको पनि खण्ड समिति बनाउनु पर्ने सुझाउ राखे।


सभामा आरएन प्रधानले समष्टि कमिटी नभएकोले खण्ड समितिमा कार्य राम्रो नभएको र चाँडै समष्टि कमिटी गठन गरिनुपर्ने आवश्यकता देखिएको र नारी मोर्चाको पनि कमिटी गठन गर्ने सुझाउ राखे। सभामा सर्व सहमतिमा मोहम्मद शहीदलाई तीनधारे खण्ड समितिको मुख्य संयोजक चयन गरियो। यसैगरी, भविष्यमा बनिने युवा मोर्चाको समष्टि कमिटीको लागि युकास प्रधानलाई सर्वसहमतिद्वारा पदभार सुम्पिएको छ। सभामा मोहम्मद शहीदले आफ्नो वक्तव्य राख्दै चाँडै अल्पसंख्यकहरूलाई लिएर एउटा कमिटी गठन गरिने बताए। सभामा युवा मोर्चाका केन्द्रीय सदस्य योगराज प्रधानले महानदीदेखि नरबुङसम्म कमिटी गठन गरिएको तर हालसम्म सदस्यहरू नभएकोमा खेद प्रकट गर्दै अब सबै सदस्यहरू जोड़ने कार्य गर्नुपर्ने र खण्ड समितिलाई सशक्त बनाएर लैजाने सुझाउ राखे। तिनले आगामी दिनमा घैयाबारी ग्राम पञ्चायत 2 मा हुने द्वारे सरकारको क्याम्पमा आम जनतालाई सहयोग गर्ने पनि आह्वान् गरे। सभामा केन्द्रीय समितिका सह सचिव बिमल दर्जीले अब संगठनमा राम्रो राम्रो व्यक्तिहरूलाई जोड़ेर सांगठनिक कार्यहरू गर्दै जाने अनि संगठनलाई मजबुत बनाएर लैजाने आह्वान् गरेका छन्। तिनले सबै पदाधिकारीहरूले सामजस्यता बनाएर आपस्तमा मिलेर कार्य गर्ने साथै सहनशील र अनुशासनमा रहेर कार्य गरिदिने अपील पनि गरेका छन्। सभामा जीपीटीओ क्षेत्रीय समिति सभापति मेघराज प्रधानले खण्ड समितिले स्वतन्त्र भएर कार्य गर्नुपर्ने र आर्थिक रूपमा मजबुत भए संगठनको कार्य राम्रो हुने पनि बताए। सभामा जीपीटीओ केन्द्रीय सदस्य बीरेन्द्र सिंह खातीले जीपीटीओको सांगठनिक गतिविधि विषयमा जानकारी गराउँदै सन् 2002 सालमा अध्यक्ष महोदयको कृपामा काम गर्न सफल भएको र अहिले परेको बेलामा अध्यक्षलाई साथ दिनुपर्ने बताए। सभामा गोजमुमो तीनधारे-महानदी समष्टिका संयोजक सुरेशचन्द्र दर्नालले जीटीए 2 को शिक्षक संगठनसित जोड़ेर आफूलाई बदनाम बनाउने षड़यन्त्र गरेको भन्दै यस विषयमा स्पष्टीकरण दिएका छन्। तिनले सांगठनिक गतिविधि विषयमा सबैलाई आह्वान् गरे। सभाध्यक्ष प्रसाद लाबरले तीनधारे खण्ड समितिलाई केन्द्र र महकुमाको राहतबाट वञ्चित गराइएकोमा खेद प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *