दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङले गोर्खाहरुको समस्या समाधानको निम्ति दोस्रो त्रिपक्षीय वार्ता चाँडै गरिनु पर्ने माग गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन्। गृहमन्त्रीलाई पठाएको पत्रमा मन घिसिङले गत 12 अक्टोबर 2021-को नयाँ दिल्लीमा सम्पन्न भएको प्रथम चरणको त्रिपक्षीय बैठकको निम्ति धन्यवाद दिँदै त्रिपक्षीय वार्ता नै राजनैतिक समाधानको निम्ति एक मात्र प्रभावकारी र सार्थक माध्यम हो भनी जनाएका छन्। यसको साथै धेरै समयदेखि विचाराधीन मुद्दाहरू जसको कारण दार्जिलिङ पहाडले विभिन्न समस्याहरु भोगिरहेको कुरा अवगत गराउँदै समस्याको समाधान द्रुतगतिमा फलदायी हुनेछ भन्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा साथै दार्जिलिङ पहाडका जनताको पक्षमा त्रिपक्षीय वार्ता अघि बढाउन तत्कालै दोस्रो त्रिपक्षीय बैठक गर्नेछ भन्ने कुरामा बिश्वस्त रहेको कुरा पत्रमा उल्लेख गरेको छ।

दार्जिलिङ, तराई डुवर्सका जनताको भावनालाई सम्मान गरेर तत्कालै दोस्रो त्रिपक्षीय बैठकको मिति तोक्ने अनुरोध गर्दै जीटीए निर्वाचन चाँडै गराउन राज्य सरकार अति उत्सुक देखिएकोले दार्जिलिङ पहाड अनि तराई डुवर्सको निम्ति वर्तमान समय स्थायी राजनैतिक समाधानको लागि त्रिपक्षीय वार्ता चलिरहेको समय यहाँ भ्रमपूर्ण माहौलको सृजना भएको कुरा पत्रमा उल्लेख गरिएको छ। गोरामुमो अध्यक्ष मन घिसिङले कतिपय कारणहरू उल्लेख गरेर जीटीए चुनाउ हुनु हुँदैन भन्ने आफ्नो पार्टीको स्पष्ट अडान रहेको कुरा पनि प्रेषित पत्रमा गृहमन्त्रीलाई जनाएका छन्।
