दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ शाखाको सांगठनिक सभा आज दार्जिलिङको केन्द्रीय पार्टी कार्यालयमा सम्पन्न भयो। अजय एडवर्डको अध्यक्षतामा सम्पन्न भएको सभामा गोरामुमो केन्द्रीय समितिका सदस्यहरू एमजे सुब्बा, वीरेन लामा, वाई लामा तथा हिमालयन प्लानटेसन वर्कर युनियनका कार्यकारिणी अध्यक्ष डीके गुरूङ, महासचिव एसके लामा, सचिव धीरज राई आदि प्रमुख रूपमा उपस्थित थिए। यसको साथै दार्जिलिङ शाखा अन्तर्गत पर्ने 13 वटा समष्टिका प्रतिनिधिहरू पनि उपस्थित थिए। गोरामुमो दार्जिलिङ शाखाका प्रवक्ता प्रभाष्कर ब्लोनले पत्रकारहरूलाई दिएको जानकारीअनुसार आज गोरामुमो दार्जिलिङ शाखाको पूर्ण समिति पनि गठन गरियो। सन्दीप लिम्बूले सञ्चालन गरेको सभामा दार्जिलिङको वर्तमान परिस्थिति तथा पार्टीको भावी सांगठनिक कार्यक्रमहरूबारेमा पनि व्यापक चर्चा-परिचर्चा गरेको बताइएको छ।