खरसाङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा आज खरसाङ नयाँ बजार सार्वजनिक भवनमा नागरिकता दिवस पालन गरियो। ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न समारोहमा केन्द्रीय समिति सदस्य रबीन लामाले सञ्चालन गरेका थिए। उक्त समारोहमा विधायक निरज जिम्बा, गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष पीसी अग्रवाल, महासचिव एनबी छेत्री, ऋषि थापा, कोषाध्यक्ष अनिल गुप्ता, गोरामुमो केन्द्रीय समितिका सदस्य, भ्रातृ संगठनका सम्पूर्ण सदस्यहरू उपस्थित थिए। समारोहमा विभिन्न गोर्खा संस्कृति कार्यक्रमको साथमा थालिएको समारोहमा गोर्खा नागरिकता विषय लिएर वक्ताहरूले जानकारी गराए। पार्टीका केन्द्रीय नेता ऋषि थापाले आफ्नो वक्तव्यमा 23 अगस्त 1988 को दिन भारत सरकारले एउटा ऐतिहासिक ग्याजेट नोटिफिकेशन जारी गरेर गोर्खाहरू भारतको खाँटी नागरिक हुन् भनेका थिए। त्यसभन्दा अघिसम्म हामी भारतको नागरिक भए तापनि यसलाई लिएर असमझता थियो। 1950 को भारत र नेपालको मैत्रीपूर्ण सन्धिको कारण धारा 7 मा उल्लेखित नेपालबाट आएको नेपाली नागरिकले भारत देशमा बस्न पाउने, व्यापार गर्न पाउने प्रावधान रहेको छ तर भारतीय गोर्खाहरूको नागरिकता विषयलाई लिएर असमझता रहेको कारण यस असमझतालाई हटाउनको निम्ति सरकारले ग्याजेट नोटिफिकेसन जारी गरेको थियो। यो दिन गोर्खाहरूको निम्ति एउटा ऐतिहासिक दिन हो भनी तिनले बताए। तिनले सुवास घिसिङको दूरदर्शिता र सिद्धान्तको कारण नै यो उपलब्धि भएको हो भनी बताए। ब्राञ्च अध्यक्ष निमा लामाले भने, आजको दिन गोर्खाहरूको निम्ति महत्वपूर्ण दिन हो कारण यो दिन भारत देशमा सरकारद्वारा गोर्खाहरू पनि भारतकै खाँटी नागरिक हुन् भन्ने बारे नोटिफिकेसन जारी गरेको दिन हो। अरूको निम्ति यो सानो कुरा हुन सक्छ तर यसबारे इतिहास जान्नु जरूरी छ। जब जब गोर्खाहरूको आङमा घाम लाग्ने समय आउँछ त्यस बेला सरकारले षड्यन्त्र शुरू गर्छ भन्ने आरोप लगाउँदै तिनले भने, बंगाल सरकारले गोर्खाहरूको भाग्य बिगार्न बिमल गुरुङ, अनित थापा र विनय तामाङ जस्ता व्यक्तिहरूलाई प्रयोग गरे। यस पाली पनि षड्यन्त्र हुँदैछ, जनता होसियार हुनपर्छ। अध्यक्ष मन घिसिङको नेतृत्वलाई हामी विश्वास गर्छौं र तिनको नेतृत्वले नै जाति र माटोको उन्मुक्ति हुनेछ भनी निमा लामाले बताए। यसै क्रमा आज खरसाङ ब्राञ्च कमिटीले गोरामुमो केन्द्रीय समितिका उपाध्यक्ष पदमा पीसी अग्रवाल, केन्द्रीय समितिका महासचिव पदमा एनबी छेत्री, विधायक निरज जिम्बा, ऋषि थापा, केन्द्रीय समिति कोषाध्यक्ष पदमा अनिल गुप्तालाई नियुक्ति गरिएकोमा बधाई दिँदै अनि खरसाङ ब्राञ्च कमिटी सदस्य अजय गुरुङलाई कोरोना संक्रमणको समयमा जनताको निम्ति सेवा पुर्याएकोमा संवर्द्धना पनि जनाइयो।
