खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङका आजीवन सदस्य सिलगढी निवासी कान्तिनाथ शर्माको असमायिक निधनप्रति गोजपुमा पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम‘ को सभापतित्वमा एउटा शोकसभाको आयोजना गरियो। शोक सभामा पुस्तकालयका सदस्यहरू तिलक शर्मा, आइएन शर्मा, सन्तोषराज छेत्री, प्रसनजीत छेत्री, अरुण लामा, कृष्ण पाण्डे, प्रकाश प्रधान, ऋषि राई लगायत अन्य उपस्थित थिए। दुई मिनटको मौन धारणसहित दिवङ्गत शर्माको स्मरण गर्दै सामाजिक क्षेत्रसहित गोर्खा जन पुस्तकालयप्रति तिनले पुराएको योगदान र कर्मप्रति वक्ताहरूले प्रकाश पारे। शोक सभाका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम‘-ले तिनी एक सफल तथा योग्य नाट्य कलाकार रहेको बताउँदै आफूले लेखेको धेरैवटा नाटकमा तिनले विभिन्न भूमिका निर्वाह गरेको बताए। पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेको शोक सभामा तिलक शर्मा, आइएन शर्मा, सन्तोषराज छेत्रीले कान्तिनाथ शर्माको संक्षिप्त जीवनी तथा तिनको कार्य विषयमा प्रकाश पारे। तिनको अन्त्येष्टि कार्यमा पुस्तकालयका सदस्यगण उपस्थित रहने अतः त्यहीँ समय शोकित परिवारजनमा शोक संवेदना पत्र प्रदान गर्ने सभाले निर्णय लिइयो।
