खरसाङ (निसं): गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा 32औँ नेपाली भाषा मान्यता दिवस साथै सम्मान अनि शैक्षिक योग्यता पुरस्कार अलङ्करण समारोह सम्पन्न भयो। पुस्तकालयका सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान मुख्य रूपमा उपस्थित थिइन्। यसैगरी, विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, सभासद नुरी शेर्पा, प्राध्यापक गङ्गाप्रसाद भट्टराई, जोगेन्द्र प्रसाद, खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान समीरदीप ब्लोन उपस्थित थिए। कार्यक्रमको शुरुमा अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरेर दिङ्वगत भाषा सङ्ग्रामीहरू साथै शैक्षिक पुरस्कारको लागि प्रायोजकहरूको परिवारका दिङ्वगत सदस्यहरूका स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। कार्यक्रमा स्वागत सम्भाषण पुस्तकालयका मूल सचिव विनोद रसाईलीले राखेका थिए भने कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरे। कार्यक्रमलाई शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा ‘भाषा मान्यता र नेपाली भाषाको वर्तमान अवस्था‘ विषयमा प्राध्यापक गङ्गाप्रसाद भट्टराईले वार्ता प्रस्तुत गरे।
यसै कार्यक्रममा पुस्तकालयको वरिष्ठ सदस्यहरू क्रमैले पूर्ण गुरुङ निरुपम र सुदर्शन अम्बटेलाई पुस्ताकालयको पक्षमा सम्मान जनाइयो। यसै क्रममा पुस्तकालयका वर्तमान सभापति पूर्ण गुरुङ निरूपमले जीटीएबाट नाट्य क्षेत्रमा प्रदान गरिने डीबी परियार स्मृति पुरस्कार हालैमा पाएको खुशीमा पुस्तकालयद्वारा सम्मान गरियो। पुस्तकालयको सदस्य एवम् वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेलाई बाल साहित्य अकादमी पुरस्कारको लागि सम्मान जनाइयो। दुवैलाई सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट खदार्पणसहित नेपाली टोपी पहिराएर, अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा विभिन्न शैक्षिक पुरस्कारहरू पनि प्रदान गरियो। प्रमुख अतिथिको रूपमा उपस्थित जीटीएका कार्यकारी सभासद कल्पना प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, प्रत्येकले नेपाली भाषालाई माया गर्नुपर्छ अनि बिहान उठेकोदेखि बेलुकासम्म नेपाली भाषामा नै बोल्नुपर्छ। हामीले आफ्नो नेपाली भाषालाई माया गर्नुपर्छ अनि घरदेखि नै भाषाको प्रयोग गर्नुपर्छ। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले आफ्नो अध्यक्षीय सम्भाषणमा सबैलाई धन्यवाद दिए।