खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा आज 30औं भाषा मान्यता दिवस समारोहको आयोजना गरियो। उक्त समारोह पुस्तकालयको सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षता र वरिष्ठ साहित्यकार नरबहादुर दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए भने भाषा मान्यता दिवस विषयमा उपाध्यक्ष ऋषि राईले संक्षिप्तमा बताएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट धुप द्वीप प्रज्ज्वलन गरेर शुरू गरेको कार्यक्रममा दिवङ्गत भाषा सङ्ग्रामीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार, शिक्षक एवम् समाजसेवी बिजय कुमार राई र सूचना अनि सांस्कृतिक विभाग जीटीएका सह निर्देशक भानुकान्त घिसिङलाई गोर्खा जनपुस्तकालयको पक्षबाट सम्मान जनाइयो। यस अवसरमा दुवैलाई सभाध्यक्ष पूर्ण गुरुङ निरूपमद्वारा नेपाली टोपी र शल ओढ़ाएर सम्मान जनाइयो भने कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान गरियो।

सम्मानपछि दुवैले आफ्नो वक्तव्यमा गोर्खा जनपुस्तकालयप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा गोर्खा जनपुस्तकालयको स्वर्ण सदस्यको रूपमा पूर्ण गुरुङ निरूपमलाई पूर्व अध्यक्षद्वय तिलक शर्मा र रबीनकुमार प्रधानको बाहुलीबाट सम्मान जनाइयो। यसैगरी, दार्जिलिङ सरकारी महाविद्यालय नेपाली विभागकी प्रमुख डा. सुजतारानी राईलाई हालैमा आफ्नो डाक्टरेट उपाधि प्राप्त गरेकोमा पुस्तकालयको पक्षबाट सम्मान जनाइयो। कार्यक्रममा पुस्तकालयको पक्षबाट वर्तमान कोरोना महामारीबीच नेपाली प्राध्यापक समूहद्वारा गोर्खा जन पुस्तकालयलाई अक्सिजन सिलेण्डर प्रदान गरेकोमा प्रशंसा पत्र प्रदान गरियो। त्यसरी नै कार्यक्रममा प्राध्यापक गंगाप्रसाद भट्टराईद्वारा सम्पादित एवम् शिवकुमार राई जन्म शत वार्षिकी समारोह समितिको प्रकाशनमा प्रकाशित “शिवकुमार राई : जन्म शताब्दी समारोहहरूमा” नामक पुस्तकको लोकार्पण अतिथिहरूका बाहुलीबाट गरियो। उक्त पुस्तक विषयमा सम्पादक गंगाप्रसाद भट्टराईले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल र सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले पनि वक्तव्य राखेका थिए। आजको कार्यक्रम विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।

सिलगढी टाइम्सको यो पहलले नेपाली भाषीहरुलाई विभिन्न जानकारी उपलब्ध गराउनमा ठूलो सहयोग पुग्ने कुरामा म विश्वस्त छु। हामी सम्बन्धित समाचार यहाँ पढ्न पाउँदा आनन्द लाग्यो । शुभकामनासहित ।