खरसाङ : भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जन पुस्तकालय खरसाङले यसपाली भाषा मान्यता दिवस पालन गर्ने भएको छ। पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरूपमको अध्यक्षतामा सम्पन्न सभामा उक्त निर्णय गरिएको छ। वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै सबै नियमलाई पालन गर्दै विविध कार्यक्रमहरूमाझ पालन गर्ने भएको छ। आगामी 20 अगस्तको दिन पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा आयोजना गरिने उक्त कार्यक्रममा भाषा मान्यता दिवससितै सम्मान र अभिनन्दन कार्यक्रम गरिने भएको जानकारी पुस्तकालयका उप-सभापति प्रकाश प्रधानले दिएका छन्। तिनले दिएको जानकारी अनुसार उक्त पुस्तकालयको पक्षबाट भानुकान्त घिसिङ र बिजयकुमार राईलाई सम्मान जनाइने निर्णय लिएको छ। यसको अतिरिक्त शिवकुमार राई जन्म शताब्दी समारोह समितिद्वारा प्रकाशित पुस्तक पनि लोकार्पण गरिने भएको छ। गत वर्ष झैं विद्यार्थीहरूलाई गरिने पुरस्कार तथा सम्मान कार्यक्रम भने यसपाली स्थगित गरिएको छ। उक्त भाषा मान्यता दिवस कार्यक्रममा सबै भाषा प्रेमीहरू र पुस्तकालयका सदस्यहरू र साहित्यकारहरूलाई आगामी 20 अगस्तको दिन बिहान 11 बजेदेखि हुने भाषा मान्यता दिवसको कार्यक्रममा उपस्थित भईदिने अनुरोध उप सभापति प्रकाश प्रधानले गरेका छन्।
