गोर्खाल्याण्ड राज्य माग समिति जीएसडीएनसी-को दिल्लीमा सम्पन्न बैठकमा राष्ट्रिय समिति गठन

नयाँ दिल्ली: गोर्खाल्याण्ड राज्य गठनको माग गर्नको लागि गठित राष्ट्रिय गोर्खाल्याण्ड राज्य माग समिति जीएसडीएनसी-ले दिल्लीमा विभिन्न राज्यमा रहने प्रवुद्ध गोर्खा व्यक्तित्वहरुलाई समेट्दै राष्ट्रिय समिति गठन गरेको छ। देशभरिका 22 राज्यबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा सर्वसहमतिमा पदाधिकारीहरू चयन गरियो। बैठकमा गोर्खाल्याण्डको लागि संगठनले गर्ने आगामी कार्यक्रमको लागि रणनीति तय गरिएको छ। बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै जीएसडीएनसी-का अध्यक्ष प्रभाकर देवानले आगामी 10 देखि 12 फरवरीसम्म गोर्खाल्याण्डको सन्दर्भमा 3 दिने कार्यक्रमको आयोजना गर्ने बताएका छन्। बैठकमा आगामी कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय लिएको तिनले बताए। बैठकमा विभिन्न राज्यमा प्रदेश समितिको गठन गर्दै सदस्यता जोड्ने अभियान पनि शुरु गर्ने र त्यसको लागि प्रदेशका संयोजकहरुलाई जिम्मेवारी दिएको छ। गोर्खाल्याण्डको लागि पहिलेदेखि कयौं संघ-संस्थाहरुले काम गरिरहेको सन्दर्भमा जीएसडीएनसी-को गठन किन गरिएको हो भन्ने प्रश्नको जवाफ दिँदै देवानले गोर्खाल्याण्डको मुद्दा एउटै भएर विभिन्न राजनीतिक दल र संघ-संस्थाले लड्दा त्यसले केही फरक नपर्ने बताए। समारोहमा बोल्दै जीएसडीएनसी-का कोषाध्यक्ष विशाल छेत्रीले आज दिल्लीमा राष्ट्रिय समिति सफलतापूर्वक गठन गरिएको भन्दै बैठक सफल भएको बताए। तिनले गोर्खाल्याण्डको माग गर्ने विभिन्न राजनीतिक दल र संगठनहरुलाई एकसाथ आउन आग्रह गरेका छन। त्यसैगरी विभिन्न राज्यबाट आएका प्रतिनिधिहरुले गोर्खाहरुको पहिचानको लागि गरिएको गोर्खाल्यान्डको मागलाई समर्थन गर्न आफुहरु राष्ट्रिय गोर्खाल्यान्ड राज्य माग समितिमा आवद्ध भएको बताए। राष्ट्रिय समितिको अध्यक्ष प्रभाकर देवान, उपाध्यक्ष उत्तम छेत्री, दिल्ली, एस जोशी, नागाल्याण्ड, बीएस राना, उत्तराखण्ड, महासचिव गौतम कालीकोटे, सहसचिव सञ्जय पाण्डे नागाल्यान्ड, कोषाध्यक्ष विशाल छेत्री, सहकोषाध्यक्ष डीके बोम्जन, वित्त सचिवमा शैलेन्द्र गुरुङ, मध्यप्रदेश, कानूनी सल्लाहकारको रूपमा जितेन्द्र चापागाईं र नागाल्याण्डका दीपक छेत्रीलगायतलाई सदस्यका रूपमा चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *