सिलगढी, 24 दिसम्बर (निसं): डा. बीआर आम्बेदकरको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहले गरेको टिप्पणीको विरोध गर्दै दार्जिलिङ जिल्ला काङ्ग्रेसले तिनको राजीनामाको माग गर्दै एउटा धिक्कार रैलीको आयोजना गऱ्यो। स्मरण रहोस, गत 17 दिसम्बरमा राज्यसभामा संविधानबारे छलफलको क्रममा गृहमन्त्री अमित शाहले डा. बीआर अम्बेदकर बारेमा गरेको टिप्पणीपछि बहस चर्किएको थियो। धेरै व्यक्तिहरूले उनको टिप्पणीको विरोध गरेका छन्। यसैक्रममा, दार्जिलिङ जिल्ला काङ्ग्रेसले मङ्गलबार सिलगढीमा गृहमन्त्री अमित शाहको राजीनामाको माग गर्दै सिलगढीमा विरोध रैली निकाल्यो। उक्त रैलीले सिलगढी शहरका विभिन्न मार्गहरूको परिक्रमा गर्दै अन्तमा हाश्मी चौक पुग्यो। त्यसपछि त्यहाँ काङ्ग्रेसका नेता र कार्यकर्ताहरूले गृहमन्त्री अमित शाहको पुतला दहन गरे।