सिलगढी : गृहणीको हत्या गरेको आरोपमा प्रधान नगर थाना पुलिसले लोग्ने सहित 6 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा लोग्ने विजय कुमार, तिनको दुईजना बहिनी, दुईजना भान्जी र एकजना भान्जा सामेल छन्। उक्त घटना सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत चम्पासारी इलाकामा घटेको हो। आज मजिस्ट्रेटको उपस्थितिमा गृहिणी साबित्रीको शवको उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पोस्टमार्टम गरियो। यस अवधि साबित्रीको केही फोटो अघि आएको छ, जसमा खुनले लतपत अवस्थामा साबित्रीको अनुहार, घाँटीमा गहिरो दाग देखिएको छ। उक्त फोटो देखेपछि मृतक गृहिणीको परिवारका सदस्यहरूले छोरीको ससुराली पक्षले हत्या गरिदिएको दावी गरेका छन्। बिहे गरेको 2 वर्षको अवधिमा सावित्रीको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनाले प्रश्न चिन्ह खडा गरेको छ। स्मरण रहोस्, गत 2021-मा अलिपुरद्वार निवासी साबित्री शाहको सिलगढीको चम्पासरी निवासी बिजय कुमारसित बिहे भएको थियो। तिनीहरूको एउटा पुत्र सन्तान पनि छ। मृतक गृहिणीको परिवारका सदस्यहरूको आरोप अनुसार बिहे भएको केही महिनापछिदेखि नै बिजय र तिनका परिवारका सदस्यहरूले साबित्रीलाई शारीरिक तथा मानसिक रूपमा अत्याचार गर्ने गर्दथ्यो। छोरी साबित्रीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकोबारे आफूहरूलाई जानकारी गराइएको थियो। तर यो आत्महत्या होइन। मृतक गृहिणीको परिवारका सदस्यहरूले छोरीको हत्या गरेको आरोप लगाउँदै ज्वाइँ र ससुरालका सदस्यहरूविरुद्ध प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लोग्ने विजय कुमार सहित 6 जनलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
