खरसाङ : खरसाङ नजिक तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़कमा पर्ने शिवखोलामा पुल निर्माणको जीटीए चेयरम्यान अनित थापाले शिलान्यास गरे। तीनधारे महानदी समष्टी अन्तर्गत सिविटारको बाघमारा बस्तीमा भएको शिवखोलामा पुल नभएकोले स्थानीय मानिसहरूलाई धेरै समस्या भइरहेकोले जीटीए चेयरम्यान अनित थापाको विशेष पहलमा पुल निर्माण कार्यको शिलान्यास गरिएको बताइएको छ। उक्त निर्माण गरिने स्टिल ब्रीज 3 करोड़ 48 लाख 50 हजारको लागतमा बनिने भएको छ। जीटीए चेयरम्यान अनित थापाले आफ्नो सम्बोधनमा यस क्षेत्रको लागि हाल मोठ 9 करोड़को काम भइरहेको साथै गत चुनाउमा आफ्नो पार्टी पराजित भए तापनि सबै ठाउँमा जीटीएमार्फत विकासको काम लगातार गरेर अघि बढ़िरहेको बताए।

शिलान्यास कार्यक्रमपछि स्थानीय सिविटार-बाघमारा क्षेत्रका जनताको तर्फबाट धन्यवाद दिँदै जीटीए चेयरम्यान अनित थापालाई फूलको गुच्छा दिनको साथै शल ओढ़ाएर सम्बर्द्धना जनाइयो। गोजमुमो तीनधारे महानदी समष्टीको कार्यकारी सभापति सीबी राईको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा खरसाङका विधायक डा. रोहित शर्मा, जीटीए बीओए सदस्याहरू अनु प्रधान र जैतुन निशा खातुनलगायत गोजमुमो पार्टीका केन्द्रीय नेताहरू तथा अन्य भातृ संगठनका प्रतिनिधिहरू उपस्थित थिए। गोजमुमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव साथै सिविटार बुथ कमिटीको सभापति उत्तम छेत्रीले स्वागत सम्भाषण राखेका थिए भने स्वर लहर प्रतिभाको खोज प्रतियोगितामा दोस्रो हुने सिविटारकै गायक मोहित भुजेलले गीत पनि प्रस्तुत गरे।
