सिलगढी : आउँदो जीटीए चुनाउलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भोलि पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो निर्णय लिइने भएको छ। पार्टीका अध्यक्ष अनित थापाले बताएअनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हाम्रो आफ्नो पार्टी हो। यसैले भोलि पार्टीको केन्द्रिय समितिको बैठकमा नै जीटीए क्षेत्रको 45 वटा समष्टिमध्ये कतिवटा आसनमा चुनाउ लड्ने भन्ने निर्णय लिइनेछ। स्मरण रहोस्, आउँदो जीटीए चुनाउमा राज्यको सत्तारूढ तृणमूल कङ्ग्रेससित गठबन्धन गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनाउ लड्ने जसमा 45 मध्ये 10 आसन तृणमूल कङ्ग्रेसको निम्ति छोडिदिने हो-हल्ला मच्चिएपछि कालेबुङ जिल्लाको कतिपय समष्टिहरू लगायत अन्य केही ठाउँमा यसलाई लिएर त्यहाँको पार्टीका सदस्यहरूले यसको विरोध जनाउन थालेको छ। यसैले नै उक्त कुरालाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केन्द्रीय समितिका पदाधिकारीहरूको उपस्थितिमा नै जीटीए चुनाउलाई लिएर चर्चा गरेपछि यसबारे अन्तिम निर्णय लिइने भएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ।
