दार्जिलिङ : दार्जिलिङ नगरपालिकामा बोर्ड गठन गर्न सफल भएपछि हाम्रो पार्टीले अब जीटीए र पञ्चायत चुनाउमाथि फोकस गर्ने भएको छ। दार्जिलिङ शहरको नेहरू रोडस्थित अजय एडवार्डको नीजि वास स्थानमा अजय एडवार्डले पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टीले अब जीटीए र पञ्चायत चुनाउमाथि फोकस गर्नेछ भनि बताए। तिनले अझ भने, मेरो हारले मलाई अझ ठूलो जिम्मेदारी सुम्पिएको छ। यदि मैले जितेको भए दार्जीलिङ नगरपालिकामाथि केन्द्रित हुन परथ्यो अनि मैले दार्जीलिङ पार्वतीय क्षेत्रको ग्रामीण क्षेत्रहरू, चिया बगान, सिन्कोना बगान साथै तराई डुवर्सतिर ध्यान दिनु पाउने थिएन। मैले यो कुरा गत केही दिन अघि पार्टी कार्यकर्ता एवम् नेतृत्वहरू माझ राखेको थिए। त्यस समय मेरो कुरा सुनेर पार्टी कार्यकर्ताहरू आफुसँग रूष्ट बनेका थिए। तिनले आफ्नो चुनाउ परिणामसित आफु अति नै खुशी रहेको जानकारी गराउँदै विजय उम्मेद्वारलाई एडवार्डले बधाई दिए। मलाई चैकीको लोभ छैन, यदि मेरो मनमा चैकीमाथि लालच भएको भए, हाम्रो पार्टीले 18 वटा आसनहरूमा जीत हासिल गरेर बोर्ड गठन गर्ने निश्चित भएको छ, यी 18 वटा आसनहरू मध्ये कुनै एउटा आसनबाट आफु पुन: निर्वाचित पनि हुन सक्थे तर मलाई चौकीको लालच पट्कै छैन भनि एडवार्डले बताए। दार्जीलिङ नगरपालिकालाई विकास गरेर लैजाने काम हाम्रो पार्टीको टीमले गर्नेछ, त्यसमा आफु पनि सामेल हुने एडवार्डले बताए। यसको साथै चुनाउ अवधि हाम्रो पार्टीले प्रत्येक वार्डहरूमा वार्ड कमिटीहरूको गठन गरेको छ, बोर्ड सञ्चालनमा वार्ड कमिटीको महत्वपूर्ण भूमिका रहने पनि तिनले बताए। चुनाउ अवधि नगरवासीहरूलाई दिएको सबै वचन अवश्यै पूरा गर्ने पनि तिनले दावी गरेका छन् ।दार्जीलिङ नगरपालिका बिमार छ अनि बिमार नगरपालिकालाई स्वास्थ्य बनाउन तितो, अमिलो दबाई त खानै पर्छ भन्ने एडवार्डले बताए। दार्जीलिङ नगरपालिकामा घोटला, भष्ट्राचारहरू पनि भएको चर्चा छ, यदि यस्तो प्रकारको कुनै प्रमाण भेट्टाएको खण्डमा हाम्रो पार्टीको बोर्डले कानुनी कार्यवाही अवश्यै गर्ने तिनले बताए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नगरपालिका पछि अब पहाडमा जीटीए र पञ्चायत चुनाउ गराउने कुरा हिजो संकेत दिएकोले उक्त कुरालाई ध्यानमा राख्दै हाम्रो पार्टीले भोलीदेखि नै जीटीए र पञ्चायत चुनाउको कसरत शुरू गर्नेछ भनि एडवार्डले बताए।
दार्जीलिङ पार्वतीय क्षेत्रमा पञ्चायत चुनाउ नभएकोले पहाडको ग्रामीण क्षेत्रहरूमा विकाश पुग्न सकेका छैन भन्ने बताउँदै पहाडमा पञ्चायत चुनाउ शीघ्रै गरिनु पर्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डले माग गरे। तिनले एउटा प्रश्नको जवाफमा भने, छुटटै राज्यको माग हाम्रो पार्टीको संविधानमा नै उल्लेख रहेको छ, त्यसकारण पार्टीले छुटटै राज्यको मागलाई इमान्दारिताको साथ उठाउने छ तर विगतका नेताहरूले जस्तो छुटटै राज्यको नाममा जनता मार्ने काम कहिल्यै गर्ने छैन। हाम्रो पार्टीले छुटटै राज्यको मागलाई गणतान्त्रिक पद्धतिमा अघि बढाउने छ। अर्कोतिर, दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेको खण्डमा नेपाली भाषा मान्यता दिवस भब्य रूपमा मनाउनेछ भन्ने अघिबाटै घोषणा गरेकोले अब आगामी अगस्त महिनामा हाम्रो पार्टीको आयोजनामा तीन दिवसीय नेपाली भाषा मान्यता दिवस कार्यक्रमको आयोजना गर्ने पनि एडवार्डले जानकारी गराएका छन्।