राजगञ्ज : हात्तीले ताण्डव मच्चाएर राजगञ्जको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत शिमुलगढी सीएस प्राथमिक पाठशालाको भान्साघर भत्काइदिएको छ। गत राति हात्तीले उक्त स्कुलको भान्साघरको झ्याल र दैलो भत्काएर कोठाभित्रको समानहरू नष्ट पारिदिएको बताइएको छ। शिक्षकहरू आज स्कुल आएपछि घटनाबारे थाहा पाए। स्कुल कर्तृपक्षले दिएको जानकारी अनुसार उक्त स्कुल हात्ती प्रभावित क्षेत्रमा रहेकोले यसभन्दा अघि पनि हात्तीले स्कुलमा हमला गरिसकेको थियो। रातको समयमा मात्र नभएर दिनमा पनि इलाकामा हात्तीहरू आउने गर्दछ। स्कुलका टीआईसी निर्मल कान्ति सरकारले भने, यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइसकेको छ। हात्तीको डरले गर्दा मिड डे मील-को लागि चाहिने खाद्य सामग्रीहरू स्टोर रूममा राख्दैन। स्कुलमा बाउन्डरी वाल नरहेकोले गर्दा हात्तीको डरले शिक्षक तथा विद्यार्थीहरू आतङ्कित रहने गर्छन्। यसैले स्कुलमा बाउन्डरी वाल बनाइदिने तिनले माग पनि गरे।