नक्सलबारी, 7 मार्च (निसं): अन्ततः पानीको कमीको समस्या समाधान भएको छ। नक्सलबारीको मांझा चिया बगानलाई मणिराम ग्राम पञ्चायतले सजल गाउँ घोषणा गरेको छ। मणिराम ग्राम पञ्चायतका अधिकारी र जनस्वास्थ्य तथा प्राविधिक विभागका अधिकारीहरूले ग्रामीणहरूसँग मिलेर सजल गाउँको घोषणा गरे। मणिराम ग्राम पञ्चायत र जीटीए सीमावर्ती गाउँको यो मांझा चिया बगानमा 300 परिवार बसोबास गर्छन्। यहाँका वासिन्दा 40 वर्षदेखि पानीको समस्यासँग जुझिरहेका थिए। अन्ततः यस गाउँलाई सजल घोषणा गरिएको छ। पञ्चायत प्रधान गौतम घोषले घर-घरमा गएर स्वच्छ पेयजलको महत्त्वबारे सचेतना फैलाए। तिनले मणिराम ग्राम पञ्चायत चाँडै सजल ग्राम पञ्चायत बन्ने बताए। यता, पानी पाउँदा गाउँलेहरू खुशी छन्।
