खरसाङ : खरसाङ खण्ड अन्तर्गत महानदीदेखि केही पर जंगपाना चियाबारीमा गोरामुमोद्वारा राहत सामग्रीहरू वितरण गरियो। गोरामुमो खरसाङ ब्राञ्च कमिटीले कोरोना महामारीको प्रकोपलाई मध्य नजर गर्दै कोरोना संक्रमित क्षेत्रमा भ्रमण गरेर होम क्वारेन्टाइनमा बसेकाहरुलाई खरसाङ ब्राञ्च कमिटी अन्तर्गत अध्यक्ष निमा लामाको नेतृत्वमा राहत स्वरुप खाद्य सामग्रीहरू वितरण गरिएको बताइएको छ। गोरामुमोको तीनधारे सुकना समष्टि अन्तर्गत जंगपाना चियाबारीमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको नेतृत्वमा भ्रमण गरेर 25 घर परिवारको निम्ति राहत स्वरुप खाद्य सामग्री साथै सेनिटाइजेशन कार्यको निम्ति रासायनिक हाइपोक्लोराइट सलुसन, पीपीई किट्स, मास्क साथै आवश्यक औषधिहरु गोरामुमो जंगपाना शाखाका अध्यक्षलाई हस्तान्तरण गरेको निमा लामाले जानकारी दिएका छन् । तिनले पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा आफ्नो क्षमता अनुसार सामाजिक सेवा अभियान जारी राखेका छौं साथै आवश्यक परेको क्षेत्रमा सहयोग पुर्यावउने छौं भनी बताएका छन्। उक्त भ्रमण टोलीमा ब्राञ्च कमिटीका महासचिव युद्ध छेत्री , केन्द्रीय समिति सदस्य रबीन लामा, ब्राञ्च कमिटी सदस्य अजय गुरुङ, समष्टि अध्यक्ष जेबी गुरुङ, सचिव प्रमोद थापा, समष्टि गोरानास अध्यक्षा शिला प्रधान लगायत अन्यहरू उपस्थित थिए।
