सिलगढी : सिलगढी नगरनिगमका मेयर गौतम देवले सहरवासीसित जनसम्पर्क बढाउने उद्देश्य लिएर एउटा नयाँ कार्यक्रम शुरू गरे। आज 1 मईदेखि सिलगढीको 2 नम्बर वार्डबाट मेयर गौतम देवले जनसम्पर्क बढाउने उद्देश्य लिएर ‘मानुषेर काछे चलो‘ अर्थात् मानिसहरू समक्ष जाऊँ कार्यक्रम शुरू गरेका छन्। यस कार्यक्रम अन्तर्गत मेयर, डेपुटी मेयर तथा वार्ड पार्षदले आज बिहान 2 नम्बर वार्डको निरीक्षण गर्नको साथै मेयरले साधारण मानिसहरूको विविध समस्याहरू सुनेर समाधान गरिदिने आश्वासन दिए। ‘मानुषेर काछे चलो‘ कार्यक्रम अन्तर्गत मेयर आज 2 नम्बर वार्डमै बस्नेछन्। उल्लेखनीय छ, मानिसहरूसित जनसम्पर्क बढाउने तथा तिनीहरूको विविध समस्याहरू बारे जानकारी लिनको लागि मेयर गौतम देवले ‘टक टु मेयर‘ कार्यक्रमको शुरुआत गरेका थिए। जसमा सहरवासीको राम्रो प्रतिक्रिया पाइरहेका छन्। यसपछि मेयर गौतम देवले ‘मानुषेर काछे चलो‘ कार्यक्रम अन्तर्गत सिलगढी नगरनिगमको सबै 47 वटा वार्डहरूमा गएर त्यहाँका मानिसहरूसित भेटघाट गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुन्नेछन्। यस सम्बन्धमा मेयरले भने, उक्त कार्यक्रम आजदेखि शुरू गरिएको छ। आज 2 नम्बर वार्डबाट यसको शुरूआत गरिएको छ भने पछि विभिन्न वार्डहरूमा उक्त कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रमलाई पुरा गर्नको लागि लगभग 10 महीनाको समय लाग्ने मेयरले बताए।
