जोरबङ्गलो सुकेपोखरी ब्लकका बीडीओ-द्वारा कन्टेनमेन जोनको परिभ्रमण, राहत सामग्रीहरू वितरण

सुकेपोखरी: जोरबङ्गलो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरूल इस्लामले परमागढ़ी तामसाङ ग्राम पञ्चायत क्षेत्रको मिम थापा धूरा कन्टेनमेन जोनको परिभ्रमण गरे। गत तीन चार दिन अघि ग्राम स्तरमा सम्पन्न गरिएको ऱ्यापिड ऐन्टिजेन टेस्टमा उक्त गाउँको 14 जना कोभिड संक्रमित भेट्टाइएको थियो । खण्ड विकास अधिकारी सामीरूल इस्लाम, जोरबङलो थाना प्रभारी मिङमा लेप्चा, मेम चियाबगानका प्रबन्धक रूपाङ्कर गोस्वामी, परमागढ़ी तामसाङ ग्राम पञ्चायत सचिव शरद योञ्जन, सुवास गुरूङ, फुर्बा छिरिङ शेर्पा, समाजका सभापति योगेश गुरुङ तथा प्रतिनिधिहरू थापा धूरा गएर स्थानीय मानिसहरूलाई सचेत गराए। संक्रमित परिवारलाई मास्क अनि राहत सामग्रीहरू वितरण गरियो। उक्त क्षेत्रलाई सबै जनसाधारणको हित अनि सुरक्षालाई ध्यानमा राखेर कन्टेनमेन जोन घोषित गरेको जानकारी गराउँदै सबै मानिसहरूलाई कोभिड प्रोटोकल पालन गरेर मास्क तथा सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गर्ने अनुरोध खण्ड विकास अधिकारीले गरेका छन्। खण्ड विकास अधिकारीले यस भ्रमण अवधि संक्रमितहरुको मनोबल बढ़ाउन साथै केही आवश्यक सामग्रीहरु पनि प्रदान गरे। आपतकालिन अवस्था आएमा तिनले आफुलाई तथा सम्बन्धित विभागलाई निसंकोच सूचित गरिदिने पनि अपिल गरेका छन् । मेम चियाबगानका प्रबन्धक रूपाङ्कर गोस्वामीले क्षेत्रका सबै मानिसहरूलाई सचेत अनि सुरक्षित बस्ने अनुरोध गर्दै केही आपतकालिन अवस्था आएमा अथवा केही सर-समानको आवश्यक परे सम्पर्क गर्ने अनुरोध गरे। बगान प्रबन्धकले चियाबगानका सबै मानिसहरूको हितमा काम गरिरहेको जानकारी दिए। यसैगरी, ग्राम पञ्चायत सचिव सरद योञ्जनले खण्ड विकास कार्यालय, ग्राम पञ्चायत कार्यालय अनि स्थानीय समाज मिलेर गाउँवासीको हित, स्वस्थ्य अनि सुरक्षालाई ध्यानमा राखेर कार्य गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *