दार्जिलिङ: बाँदरले आफ्नो घर पनि बनाउँदैन अनि अरूको घर पनि बनाउन दिँदैन भन्ने प्रवृत्ति लिएर भाजपा अनि राजु विष्टहरूले पहाड़ भत्काउने मात्रै काम गरिरहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गम्भीर आरोप लगाएको छ। जब दार्जिलिङ पहाड़ शान्त हुन्छ अनि पहाड़वासीले फेरि केही राहत र विकासतिर अग्रसर गर्ने मौका पाउँछन् भाजपाले शान्ति श्रृंखला भङ्ग गर्न राजु विष्ट जस्ता एजेन्टहरू पहाड़मा सक्रिय गराइहाल्छन् भन्दै दार्जिलिङ पहाड़मा सांसद राजु विष्टले सांसद भएको नाताले पहाड़वासीको हितमा हैन तर भाजपाको एजेन्ट भएर काम गरिरहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय प्रवक्ता केशवराज पोखरेलले बताएका छन्। तिनले एउटा विज्ञप्ति जारी गरेर भनेका छन्, हामी पनि जीटीए नै हुनुपर्छ भन्ने पक्षमा छैनौं तर लथालिङ्ग भएको दार्जिलिङ पहाड़लाई व्यवस्थित बनाउनको निम्ति कुनै न कुनै व्यवस्था क्षमतामा हुनैपर्छ भन्ने हाम्रो भनाई हो। यदि राजु विष्टहरूले जीटीए खारेज गर्न चाहन्छन् भने यसभन्दा पहिला तिनीहरूले कसम खाएको गोर्खाल्याण्ड राज्य गठन गरून् र त्यसपछि जीटीए खारेज गरून्। यदि गोर्खाल्याण्ड ल्याउन सक्दैनन् भने भइरहेको व्यवस्थालाई क्षमतामा ल्याउन तिनीहरूले विरोध पनि नगरून्। यदि सांसद राजु विष्टलाई दार्जिलिङ पहाड़को साच्चै नै चिन्ता छ भने संविधानको आर्टिकल 243 (M) लाई संशोधन गरेर दार्जिलिङ पहाड़मा त्रिस्तरीय चुनाउ गर्ने बाटो खुल्ला गर्ने दिशातिर कार्य गरून्। पञ्चायत चुनाउ नभएर दार्जिलिङ पहाड़का पञ्चायत क्षेत्रका मानिसहरूले भोगिरहेको समस्याहरूको निराकरण गर्ने दिशातिर कार्य गरून्। भाजपाको एजेन्ट भएर हैन तर पहाड़वासीको साँचो सासंद भएर काम गरून्। भाजपाले 2017 मा बिमल गुरूङलाई उक्साएर हिंसात्मक तौरमा गोर्खाल्याण्ड आन्दोलन गर्न लगाए। फलस्वरूप दार्जिलिङ पहाड़ लथालिङ्ग भयो। पहाड़वासीले दुःख पाउनसम्म पाए। दार्जिलिङ नगरपालिकालाई भताभुङ्ग बनाउने पनि भाजपा नै हो। भाजपाको राजनैतिक हस्तक्षेपको कारण दार्जिलिङ नगरपालिकाको बोर्ड भङ्ग भयो र दार्जिलिङ नगरपालिकाक्षेत्रका मानिसहरूले अहिले हुनसम्मको दुःख पाइरहेका छन्। आफ्नो जन-प्रतिनिधि नभएको कारणले दार्जिलिङ नगरपालिका क्षेत्रको नाला-झोड़ा, मैला कुचैला उठाउने समेत कोही छैनन्। दार्जिलिङ नगरपालिका भङ्ग गर्ने भाजपाको षड़यन्त्रले गर्दा दार्जिलिङ नगरपालिका क्षेत्रवासीले यसरी दुःख भोगिरहेका छन् भने जीटीए भङ्ग गरेर समग्र दार्जिलिङ पहाड़लाई नै लथालिङ्ग बनाउने भाजपाको षड़यन्त्र हो। यो षड़यन्त्रलाई सफल बनाउन सासंद राजु विष्टले भाजपाको एजेन्ट भएर काम गरिरहेका छन्। जीटीए खारेज गर्नुछ भने पहिला गोर्खाल्याण्ड राज्य गठन गरेर देखाओस्, अन्यथा भइरहेको व्यवस्थालाई पनि भङ्ग गरेर दार्जिलिङ पहाड़लाई भताभुङ्ग बनाउने षड़यन्त्र भाजपाले नगरोस्। यदि यसो गर्छ भने अब दार्जिलिङ पहाड़को जनताले नै भाजपालाई मुहतोड़ जवाब दिन आवश्यक छ, अन्यथा भाजपाले हाम्रो दुःख, समस्याहरूको सौदा गरेर राजनैतिक रोटी सेक्ने काम गर्नु कहिल्यै पनि छोड़ने छैन। प्याकेजमा बाहिरबाट ल्याइएका सासंदहरूले दार्जिलिङ पहाड़को समस्या र मर्म कहिले पनि बुझ्ने छैन। दार्जिलिङ पहाड़को भविष्य बनाउन अनि फेरि शान्त दार्जिलिङ पहाड़ बनाउनको निम्ति पहाड़वासी नै एकजुट हुनुपर्छ। हामी एकजुट बनौं, प्याकेजका नेताहरूलाई आफ्नो फायदाको निम्ति दार्जिलिङ निलाम गर्न नदिऔँ।
