टिस्टा भेल्ली : जीटीए चेयरम्यान अनित थापा हाल तकदाह-टिस्टा भेल्ली समष्टिका विभिन्न क्षेत्रहरूको गत 3 दिन अघिदेखि लगातार परिभ्रमण गरिरहेका छन्। हाल अनित थापाले तकदाह-टिस्टा भेल्ली क्षेत्रका विभिन्न ठाउँहरूमा गएर त्यहाँका मानिसहरूसित भेट गर्नको साथै तिनीहरूको विविध समस्याहरूको समाधान गरिदिने आश्वासन दिँदै आइरहेका छन्। विशेष गरेर बाटो, पानीको व्यवस्था, कम्युनिटी हल लगायत विभिन्न मन्दिर, गुम्बाहरूको निर्माणको निम्ति तिनले विभिन्न ठाउँहरूमा मानिसहरूको गुनासो सुनेपछि त्यसको लागि सहयोग तथा निर्माण गर्ने वाचा दिएका छन्।

यसै क्रममा पहिलो दिन तकदाह क्यान्टुमेन्ट क्षेत्रको विभिन्न ठाउँहरूको परिभ्रमण गरेपछि हिजो टिस्टा भेल्ली लगायत गेलको विभिन्न गुम्बा, मन्दिर, स्कुलहरूको निरीक्षण गर्नको साथै तिनले विभिन्न गाउँहरूको परिभ्रमण गर्दा त्यहाँका मानिसहरूले आ-आफ्नो विविध समस्या समाधान गरिदिने माग गरेपछि त्यसको समाधान गरिदिने आश्वासन दिए भने आज बिहानैदेखि यहाँको नामरिङ चियाबारीका विभिन्न ठाउँहरूको भ्रमण गरेर मानिसहरूसित भेट गर्नको साथै तिनीहरूसित भलाकुसारी गरिरहेका छन्। आज नामरिङदेखि आफ्नो भ्रमण शुरू गरेर जिङलाम, पुबुङ चियाबारी, रङ्गली र पुबुङ बस्तीको परिभ्रमण गर्दै त्यहाँका मानिसहरूको दुख, समस्या र गुनासोहरू सुनेपछि आफ्नो क्षमता अनुसार समाधान गरिदिने वचन दिएका छन्। यस अवसरमा तिनीसित गोजमुमो तकदाह-टिस्टा भेल्ली क्षेत्रका पार्टी अध्यक्ष ढेन्डुप पाख्रीन, महासचिव श्याम योञ्जन, युवा मोर्चा सभापति सुरेश गुरुङ, सचिव रोजल राई, राजमान श्याङ्बो, फुर्वा लामा, मोहन कटवाल आदि उपस्थित थिए।
