जीटीएको चुनाउ भए तृणमूल कङ्ग्रेसले नै बोर्ड गठन गर्नेछ : एलबी राई

मिरिक : जीटीएको चुनाउ भए तृणमूल कङ्ग्रेस पार्टीले जीटीएको बोर्ड गठन गर्ने दार्जिलिङ अनि कालेबुङका पार्टी चेयरमेन एलबी राईले दावी गरेका छन्। तिनले आज मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै यस प्रकारको मन्तव्य पोखेका हुन्। तृणमूल पार्टीको सांगठनिक बिस्तारले जोड पाएको बताउँदै तिनले हाल पहाडभरिमै पार्टीको शाखा-प्रशाखा गठन भइरहेको साथै पार्टीमा समर्थन जनाउने क्रम जारी रहेको बताए। गत महिना राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङमा भएको प्रशासनिक बैठकमा नयाँ भोटर लिस्ट तयार भएपछि जीटीए चुनाउ गराउन सकिने कुरा बताएपछि जीटीए चुनाउ हुने लख काटिएकोले पार्टी चुनाउको तयारीमा जुटेको तिनले बताए। तिनले पहाडमा पञ्चायत चुनाउ पनि हुनुपर्ने कुरामा जोड दिँदै त्रिस्तरीय चुनाउको लागि संविधान संशोधन गरेर यसलाई अगाडि बढाउन सकिने छ भन्दै पहाडमा दुई स्तरीय भए तापनि चुनाउ गरियोस् भन्दै राज्यका पञ्चायत मन्त्रीलाई पार्टीले पत्रचार गर्नेछ भनी तिनले बताए। नगरपालिका चुनाउ समयमै गराए ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले स्थानीय जनप्रतिनिधि पाउनेछन् भन्दै तिनले पहाडमा अब सर्वाङ्गीण विकासका लागि पार्टीले काम गर्नेछ भनी बताए। पहाडको विभिन्न क्षेत्रबाट तृणमूल कङ्ग्रेसमा सामेल हुने क्रम जारी रहेको दावी गर्दै तिनले पार्टीको सांगठनिक गतिविधिलाई लिएर तृणमूल कङ्ग्रेसले कार्य गरिरहेको साथै चाँडै नै यहाँका रिपोर्टहरू लिएर आफू कलकता जाने बताए। यता पहाडको स्थायी राजनैतिक समधानको विषयमा सोधिएको प्रश्नको जवाफमा राईले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङमा सम्पन्न भएको प्रशासनिक बैठकमा पहाडको समस्यालाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीलाई दिसम्बरसम्म खेस्रा तयार पार्ने निर्देश दिएकी छन्। यसबारे यी दुई पार्टीले नै खेस्रा तयार पारेर मुख्यमन्त्रीलाई बुझाउने छन्। सबै कुरा पहाडको हितमा नै हुनेछ भनी तिनले बताए। तिनले पहाडमा नयाँ नयाँ दलको गठन भइरहेको बारेमा आफ्नो मत जाहेर गर्दै भने, पहाडमा पान दोकान खोल्नु गाह्रो होला तर पार्टी खोल्नु सजिलो भएको छ। अजय एडवर्डले नयाँ दलको गठन मिरिकबाट गर्ने घोषणा गरेको प्रसङ्गमा तिनले भने, मिरिक अहिले पोलिटिकल इपिक सेन्टर जस्तो भएको छ, गणतन्त्रमा सबैलाई पार्टी गर्ने दल गठन गर्ने अधिकार छ भन्दै तिनले अजय एडवर्ड शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *