कालेबुङ : साउनको तेस्रो हप्ता चलिरहेकोले हाल कालेबुङ सहरदेखि केही टाढा बर्मेकमा रहेको प्रसिद्ध महादेव धाममा दिनहुँ भगवान शिवलाई जल चढाउनेहरूको भीड देखिन्छ। यस धाममाथि मानिसहरूको धेरै आस्था रहेको भए तापनि सरकारी पक्षबाट यसको उचित संरक्षण नभएको स्थानीय भक्तजनहरू बताउँछन्। यो महादेव धामलाई पनि सरकारले धार्मिक पर्यटन स्थलको रूपमा स्थापित गर्न सकेको खण्डमा यस धामको लोकप्रियता बढेर जानको साथै यस क्षेत्रमा पर्यटन पनि धेरै फस्टाएर जाने सम्भावना रहेको तिनीहरूको भनाइ रहेको छ। भनिन्छ, महादेवको साक्षात् दर्शन पाएपछि निर्माण गरिएको उत्तर बङ्गालकै एकमात्र यो महादेव धाम हो। साउन महिनामा मात्र नभएर अन्य समयमा पनि यहाँ पुजा अर्चना गर्न आउने भक्तजनहरूको भीड देखिन्छ। यस धाममा गरिएका भाकलहरू भगवान महादेवले पुरा गर्नेछ भन्ने भक्तजनहरूको विश्वास रहेको छ। यहाँ धामभित्र चट्टान छ जहाँ आफै शिव लिङ्ग उत्पन्न भएको छ भने जल अर्पण गर्ने ढुङ्गामा बाघको छाला अङ्कित भएको देखिन्छ।

यसबारे मन्दिर सञ्चालन समितिका महेन्द्र राईसित जान्न चाहँदा तिनले धामभित्र रहेको उक्त शिव लिङ्ग अनि ढुङ्गामा बाघको छालाको आकार आफै उत्पन्न भएको दावी गरेका छन्। तिनले दिएको जानकारीअनुसार यस क्षेत्रकी एउटी महिलाले घाँस काटिरहेको समय साक्षात् भगवान शिवको दर्शन पाएकी छन्। तर शिवलाई देखेपछि तिनी केही क्षणमै बेहोश बनिन्। केही समयपछि होश आएर तिनले घटनाबारे गाउँलेहरूलाई जानकारी गराइन् अनि पछि 1984-मा उक्त स्थानमा महादेव धाम निर्माण गरिएको छ। भनिन्छ, दार्जिलिङका एकजना लामाले पनि सपनामा उक्त क्षेत्रमा गौरी शङ्ख देखेपछि दार्जिलिङबाट तिनी खोज्दै यहाँ आइपुगेका थिए। त्यहाँ खननपछि भेटिएको गौरी शङ्ख लामाले लिएर गएको स्थानीय मानिसहरूको भनाइ रहेको छ। उक्त धामको निर्माण गोरामुमोका भूतपूर्व अध्यक्ष दिवङ्गत सुभाष घिसिङद्वारा गरिएको थियो। तथापि, तिनले उक्त धामलाई धार्मिक पर्यटनको रूपमा स्थापित गर्ने दिशामा कुनै कार्य नगरेको बताइन्छ। यदि उक्त बर्मेक महादेव धामलाई धार्मिक पर्यटन स्थलको रूपमा सरकारले स्थापित गर्न सके पर्यटन व्यवसाय लगायत स्थानीय मानिसहरूलाई पनि धेरै सुविधा पुग्ने यस क्षेत्रका मानिसहरू बताउँछन्।
