कालेबुङ : कालेबुङको भालुखोप ग्राम पञ्चायतबाट चुनाउ लडिरहेका भाजपा प्रार्थी इमानुएल लेप्चाको घरमा हमला गर्नको साथै तिनको नाबालिका छोरीमाथि पनि हमला गरेको घटना प्रकाशमा आएको छ। सत्तारुढ पार्टी र यसको गठबन्धन दलका केही दुष्कृतिहरू इमानुएल लेप्चाको घरमा प्रवेश गरेपछि पार्किङमा राखेको तिनका वाहन तोडफोड गर्नको साथै तिनको नाबालिका छोरीलाई समेत हमला गर्दा नाबालिका घाइते भएको बताइएको छ। दार्जिलिङका सांसद राजु विष्टले उक्त घटनाबारे जानकारी गराउँदै वर्तमान यस प्रकारको परिस्थितिबारे चिन्ता व्यक्त गरेका छन्। घटनाबारे तिनले भने, टीएमसी र यसको गठबन्धन दलले राज्यमा राजनीतिक आतङ्कवाद फैलाइरहेको छ। भाजपा पार्टीका प्रार्थीहरू लगायत तिनका परिवारका सदस्यहरूमाथि हमला गर्नको साथै तिनीहरूको सम्पत्ति समेत नष्ट गरिदिएको छ। यसबाहेक तिनीहरूले उत्पीडनको सामना पनि गर्न परिरहेका छन्। सांसद विष्टले पश्चिम बंगाल राज्य निर्वाचन आयोग, राज्य तथा जिल्ला प्रशासन र पुलिसको आलोचना गर्दै तिनीहरूले अग्र पङ्क्तिमा रहेर टीएमसी कार्यकर्ताको रूपमा काम गरेको अनि सत्तारुढ दलका दुष्कृतिहरूलाई आश्रय तथा सुरक्षा प्रदान गरेको आरोप पनि लगाएका छन्। राज्यमा टीएमसी सरकारको चाँडै पतन हुने सांसद विष्टले भविष्यवाणी पनि गरे। अर्कोतिर, उक्त आक्रमण तथा तोडफोड काण्डमा संलग्न सबै आरोपीहरूलाई कठोर कार्वाही गरिने पीडित परिवार पक्षलाई भाजपाका राष्ट्रिय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आश्वासन दिएका छन्।