कालेबुङ : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार आज राज्यका अन्य स्थानहरूमा झैँ यता कालेबुङमा पनि खेला होबे दिवस पालन गरियो। यहाँको होम्स् रोनाल्से मैदानमा सम्पन्न कार्यक्रममा राज्यसभा सांसद शान्ता छेत्री मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन् भने जिल्लापाल आर बिमला, अतिरिक्त जिल्लापाल तोप्देन लामा, पुलिस अधीक्षक हरिकृष्ण पाई, एएसपी एसएम एजिम, महकुमा अधिकारी तेजस्वी राणा लगायत अन्यको उपस्थिति रहेको थियो। यसैबीच धनुकाँड, भलिबल, फुटबल आदि खेलहरूको पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य राज्यमा खेललाई प्रोत्साहन गराउनु रहेको तृणमूल राज्यसभा सांसद शान्ता छेत्रीले बताइन्। सुरजमणि प्रधानले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्थानको संघ-संस्थाहरूलाई फुटबल वितरण गर्नको साथै अतिथिहरूको बाहुलीबाट खेलाडीहरूलाई पारितोषिक वितरण गरियो।
