कालेबुङमा लिम्बू लोककथाको हिन्दी कृति याक्थुङ मुक-खेदा लोकार्पित

कालेबुङ (निसं): “लोककथा समयको मिथकीयदस्तावेजीकरण हो। लोककथाले जनजीवनको आर्थिक, सामाजिक, सांस्कृतिक कथा भन्दछ। याक्थुङ मुकखेदा यस अर्थमा ऐतिहासिक कृति हो”, सिक्किम विश्वविद्यालयको हिन्दी विभागाध्यक्ष डा. प्रदीप त्रिपाठीले डा. शोभा लिम्बू चेम्जोङकृत लोकार्पित कृति ‘याक्थुङ मुक खेदा’-माथि निरूपण राख्दै यसो भने। उनले अझ भने, “लोककथाको सङ्कलन भएता पनि याक्थुङ मुक खेदा वास्तवमा एक शोधपरक मौलिक कृति हो। लेखकले वैज्ञानिक ढङ्गमा फिल्डवर्क गरेर, अनुसन्धान गरेर कृति तयार गरेकी छन्”। डा. त्रिपाठीले अझ भने, विषय विविधता यस कृतिको मुख्य आकर्षण हो। प्रकृतिपूजक लिम्बू समाजको धरोहरमा प्रकृति चिन्तन, नारी विमर्शको प्रसङ्गलाई आधार बनाएर आधुनिक सान्दर्भिकताको समेत व्याख्या गर्दै यस कृतिमा लिम्बू लोककथाको वैज्ञानिक पुनर्लेखन गरिएको छ।
डा. चेम्जोङको कृति लोकार्पणकै सिलसिलामा सिक्किमबाट आएका अग्रणी लिम्बू भाषाविद् एवं शिक्षाविद् एसआर खाजुमले ‘लिम्बू साहित्य: सम्भावनाको बाटो’-माथि वार्ता राख्दै भने, “साहित्यभन्दा अघि भाषा हो। भाषा विकसित छ भने साहित्य विकसित हुने हो। भाषामाथि जोड़ दिइए साहित्य उन्नत हुँदै जान्छ। सिक्किम नै लिम्बू भाषा-साहित्यको बढ़ी विकास भएको ठाउँ हो। विगत सन् 2011-को सेन्सस् अनुसार लगभग 60 हजार लिम्बू भाषा बोल्नेहरू छन्। बङ्गाल, असम र अन्यत्र पनि लिम्बू भाषा-साहित्यको जगेर्ना हुन आवश्यक छ”। तिनले अझ भने, “लिम्बू भाषामा खण्डकाव्यदेखि महाकाव्यसम्म लेखिएका छन्। सिक्कममा बुनियाँदी स्तरदेखि विद्यावारिधिसम्म लिम्बू भाषाको पठन-पाठन हुने गरेको छ। इमानसिंह चेम्जोङ नै आधुनिक लिम्बू भाषा-साहित्यका पुरोधा हुन्। इमानसिंहको कर्मभूमि कालेबुङ महत्त्वपूर्ण भूमि हो। सन् 1925 -मा विश्वकै पहिलो लिम्बू संस्था याक्थुङ सङ्घ कालेबुङमा स्थापना भएको हो। यही संस्थाबाट नै लिम्बू भाषाको संवर्द्धनको आरम्भ भएको इतिहास छ। लिम्बू भाषा-साहित्य संस्कृत जत्तिकै वैभवशाली छ।” भाषा लेखेर-पढ़ेरभन्दा बोलेर सिकिने हो। भाषा सिक्ने पद्धतिमा भाषाको व्यावहारिक पक्ष हो अनुकरणात्मक मौखिक प्रक्रिया। अब हामी सबैले लिम्बू भाषा बोल्न थालौँ भन्दै तिनले आह्वान गरे।
नेपाली कविताका शिखरपुरुष एवं किनारीकरण लेखनका प्रणेता दार्जीलिङे कवि मनप्रसाद सुब्बाले ‘लिम्बू साहित्यको मोटिफ’-माथि वार्ता राख्ने क्रममा भने, मौखिक मन्धुम साहित्यको लिप्यान्तरणको महान् काम गर्दै इमानसिंह चेम्जोङले बसाएको घड़ेरीमा कवि वैरागी काइँलाले थप गौरवशाली काम गरेका छन्। लिम्बू लोक आख्यान प्रतीकात्मक-विम्बात्मक-आलङ्कारिक भएकोले र गेयात्मक-लयात्मक हुनुको कारण मुन्धुम हजारौँ साल मौखिक स्वरूपमा पुस्ता दर पुस्ता मुन्धुम हस्तान्तरित हुँदै आएको हो।
नरबहादुर भण्डारी महाविद्यालयको लिम्बू भाषा विभागका प्राध्यापक एवं लिम्बू भाषा विशेषज्ञ डा. बीएल खाम्धाकले ‘लिम्बू लेखनको व्यावहारिकता’-माथि वार्ता राख्दै भने, लोककथा लोकवार्ताको अङ्ग हो। 2850-मा ब्रायन हडसनले लोकवार्ताको दस्तावेजीकरण गरेको इतिहासमा लिम्बू लोकवार्ताको पहिलो आधाकारिक उल्लेख भएको हो। आधुनिक लिम्बू साहित्यको आधार लोकवार्ता रहेको छ। सन् 1970-सम्म आधिकारिक लिम्बू लोककथाहरू दस्तावेजीकरण भएर आयो। लिम्बू 1964-मा पहलमान नेम्बाङ र सन्तवीरले पहिलोचोटि लेखेको पालाम लिम्बू कविताको आधारशिला हो।
‘याक्थुङ मुक खेदा’ विश्वमै हिन्दीमा लेखिएको पहिलोपल्ट लेखिएको लिम्बू लोककथा हो, डा. खाम्धाकले दाबी गरे।
‘मुन्धुम सौन्दर्य दर्शन’-माथि वार्ता राख्दै इलाम, नेपालबाट आएका कवि-समालोचक एवं पहिचानवादी लेखनका स्तम्भ प्रकाश थाम्सुहाङले भने, मुन्धुम एक महाग्रन्थ हो। यसमा ब्रह्माण्ड, प्रकृति र सृष्टिका कुरासँगै समाज आचार-संस्कारका सर्वाङ्गी, सर्वव्यापी कुरा छन्। उनले अझ थपे, “अहिले उठान गरिँदै गरिएको समावेशिताको कुरा उहिल्यै मुन्धुमले गरिसकेको हो। मुन्धम सौन्दर्य दर्शन समावेशितामा आधारित छ। सह-अस्तित्व, सह-कार्य र सह-जीवन मुन्धुमको मूल दर्शन हो। मुन्धुम लोकाख्यान मातृसत्तात्मक छ, जसले सृष्टिको पहिलो मानव नै नारी मान्दछ। नारी विमर्श यसैले मुन्धुम दर्शनको आन्तरिक तत्त्व हो।”
“न म लिम्बू साहित्यको विद्वान् हुँ, न लोककथा सर्जक हुँ। मेरा बाजे इमानसिंह चेम्जोङको लिम्बू लोकसाहित्य सृजनकर्म मेरो सृजनात्मक लेखनको मुख्य प्रेरणा हो। लोककथाप्रतिको आकर्षण आफ्नै परिवारबाट पाएको हो। मेरो बोजूले सानामा सुनाउनु भएका लोककथाहरूले मलाई यो कृति सृजना गर्ने लहड़ चलेको हो” सर्जकीय सम्बोधनमा कृतिकार डा. शोभा लिम्बू यल्मो चेम्जोङले भनिन्। सर्जकले अझ थपिन्, “लोककथाको खासमा कोही लेखक हुँदैन। लोक-आख्यान पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आउने हो। राजनैतिक पहिचानको सत्यापनको सन्दर्भमा हाम्रा लोककथा एक दह्रो दस्तावेजीकरण हो। हाम्रो पहिचान सङ्कटलाई समाधान गर्ने उद्देश्यमा हाम्रा लोकसाहित्यहरू अब अनुवाद भएर विश्वका विभिन्न भाषामा लैजान आवश्यक भएको छ”।
मिरिकका युवाकवि अजित वियोगीले ‘तपाइँ चाहिँ खाली शहर-शहर भन्नुहुन्छ’, सिक्किमका कवि सुचन प्रधानले ‘अलिकता म’ र सिलगढ़ीका कवि राजाले ‘तङसिङ’ शीर्षक कविता वाचन गरेको लोकार्पण समारोहमा कृतिको प्रकाशन संस्था बुक एन्ट, सालबारीको पक्षमा कवि-प्रकाशक सुरज गुरुङले सर्जक परिचय राखेका थिए।
कृतिको लोकार्पण मनप्रसाद सुब्बा, डा. प्रदीप त्रिपाठी, डा. हर्कबहादुर छेत्री, डा. बीएल खाम्धाक, अमृत सुब्बा, एआर खाजुम, प्रकाश थाम्सुहाङ, पर्वत पोर्तेलको बाहुलीबाट भएको थियो। नेपालबाट कवि प्रकाश थाम्सुहाङ, कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार पर्वत पोर्तेलको विशेष उपस्थिति रहेको समारोहमा सिक्किमबाट डा. बीएल खाम्धाक, एसआर खाजुम, डा. पुष्पा शर्मा, दार्जीलिङबाट पुस्तकालय अधिकारी अमृत सुब्बा, कालेबुङबाट डा. हर्कबहादुर छेत्री, योगवीर शाक्य, सञ्जय विष्ट, अनुकम्पा सुब्बा, सुधीर छेत्री, मनोज बोगटी, छुदेन काविमो, हिरा छेत्रीको उपस्थिति रहेको थियो। समारोहलाई कालेबुङका कवि-अभिनेता टिका भाईले सञ्चालन गरेका थिए।
यसैगरी, बिजनबारी लिम्बू सङ्ठनको पक्षमा पल्लवी लिम्बू, शेसाना लिम्बू र बिर्सिका लिम्बूले च्याब्रुङ बजाउँदै केलाङ नृत्य प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध तुल्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *