खरसाङ : कथाकार कालूसिंह रनपहेंलीको कथा सङ्ग्रह ‘च्यातिएका पृष्ठहरू’-को असमका वरिष्ठ साहित्यकार भीम शर्मा धमालाद्वारा असमिया भाषामा अनुवादित कृति ‘विच्छिन्न पृष्टाबूर’ सिलगढीको सालबारीमा एउटा कार्यक्रमबीच लोकार्पण गरियो। विशिष्ट साहित्यकार नरबहादुर दाहालले अध्यक्षतामा सम्पन्न समारोहमा विशिष्ट अतिथिको रूपमा साहित्यकार डा. जस योञ्जन प्यासी, उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा. कृष्णराज घतानी, प्रतिष्ठित कवि-कथाकार भविलाल लामिछाने, साहित्यकार ज्ञानेन्द्र खतिवड़ा, कथाकार तथा अनुवादक जीतबहादुर सोनार, कवि तथा अनुवादक लीलबहादुर सोनार, चिया उद्योगपति अरूण कुमार गोम्देन आदि उपस्थित थिए। यस अवसरमा अध्यक्ष तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट च्यातिएका पृष्ठहरू कथा सङ्ग्रहको असमिया भाषामा अनुवादित कृति ‘विच्छिन्न पृष्टाबूर’ लोकार्पण गरियो। यस अवसरमा अनुवादक तथा कथाकार जीतबहादुर सोनारले आफ्नो सम्बोधनमा रनपहेंलीको कथा लेखनका विभिन्न पक्षहरूलाई केलाउँदै आफ्नो वक्तव्य राखे। विशिष्ट अतिथि डा. जस योञ्जन प्यासीले रनपहेंलीको कथा लेखनबारे चर्चा गर्दै रनपहेंलीको च्यातिएका पृष्ठहरू कथा सङ्ग्रह असमियामा अनुवाद हुनु नेपाली साहित्यको निम्ति ठूलो उपलब्धि हो भनी बताए। तिनले रनपहेंलीलाई लेखनमा निरन्तर लागिरहने सुझाउ दिए। विशिष्ट अतिथि प्रा. डा. कृष्णराज घतानीले रनपहेंलीको कथाकारिताले असमिया भाषामा अनुवाद हुनु नेपाली साहित्यकै निम्ति एउटा सुखद घटना हो भनी बताए।
